६५ हजार डलर साटिदिने भन्दै ११ लाख ७८ हजार ठगी गर्ने एक पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २८, आईतवार १६:१५

धादिङ ।जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीले ६५ हजार अमेरिकी डलर सटही गरिदिने भन्दै ११ लाख ७८ हजार रुपैयाँ नगद तथा सुनका गहना ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्ने ३७ वर्षीय बुद्धबहादुर योञ्जन रहेका छन्।


प्रहरीका अनुसार कास्की पोखरा महानगरपालिका–१७ का एक सुनचाँदी व्यवसायीलाई ठूलो फाइदा हुने भन्दै ६५ हजार अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर धादिङको धुनीबेँसी नगरपालिका–८ झ्याप्लेखोलास्थित स्थानमा बोलाइएको थियो। पीडितले साथमा ल्याएको ११ लाख ७८ हजार रुपैयाँ नगद, एक तोला सुनको बेबी औंठी र आधा तोला सुनको बक्स औंठी लिएर आरोपितले सेतो टेपले बेरेको कागजको बन्डल थमाएका थिए। पछि बन्डल खोल्दा डलरको सट्टा खाली कागजका टुक्रा मात्रै भेटिएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरीले आइतबार काठमाडौं–धादिङ सीमा क्षेत्र नजिक मोटरसाइकलमा आउँदै गरेका योञ्जनलाई पक्राउ गरेको हो। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल, एक थान आईफोन ११ प्रो म्याक्स मोबाइल र खाली कागजका बन्डल बरामद गरेको जनाएको छ। पक्राउ परेका योञ्जनविरुद्ध ठगी मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *