काठमाडौं । नेपाली कांग्रेसले पार्टी संगठनलाई थप सुदृढ, सशक्त र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको ‘जरा अभियान’ आगामी साउन ६ गते औपचारिक रूपमा समापन गर्ने भएको छ।
महामन्त्री प्रदीप पौडेलले जारी गरेको परिपत्रअनुसार पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका अनुरूप सक्रिय सदस्यता वितरण तथा नयाँ सदस्यको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि दिइएको समय साउन ३ गतेसम्म थप गरिएको छ।
परिपत्रमा जरा अभियानअन्तर्गत जिल्ला र पालिकामा खटिएका केन्द्रीय प्रतिनिधि तथा प्रतिनिधिहरूको कार्यावधि पनि साउन ३ गतेसम्म कायम रहने उल्लेख छ। पालिकामा खटिएका प्रतिनिधिले साउन ४ गतेभित्र जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसले जननायक बी.पी. कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर साउन ६ गते जिल्ला कार्यसमितिको आयोजनामा व्यापक सहभागितासहित ‘जरा अभियान’ समापन कार्यक्रम सम्पन्न गर्न सबै जिल्ला र पालिका समितिलाई निर्देशन दिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्