कांग्रेस सभापति गगन थापाको आरोप– ‘मेरो घरअघि शंकास्पद गाडी राखेर सरकारले तर्साउन खोज्यो’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २९, सोमबार १७:१९

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नै निवास अगाडि शंकास्पद अवस्थामा गाडी राखिएको घटनामा सरकारी पक्षको संलग्नता रहेको दाबी गर्नुभएको छ।


सभापति थापाले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै बिहान करिब ७ बजे दुई जना युवाले आफ्नो घर अगाडि गाडी राखेर प्रशासनको गाडीमा चढेर गएको जानकारी स्थानीयवासीबाट प्राप्त भएको बताउनुभयो। उहाँले उक्त घटनालाई सरकारद्वारा आफूहरूलाई तर्साउने प्रयासको रूपमा व्याख्या गर्दै यस्ता गतिविधिबाट आफूहरू नतर्सिने चेतावनी दिनुभयो।


थापाले लोकतान्त्रिक व्यवस्थामा विपक्षी नेतामाथि यस्तो शैली अपनाइनु गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो।


आज बिहान सभापति थापाको निवाससँगै कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि पनि अपरिचित समूहले गाडी तेर्साएर छाडेको पाइएको थियो। घटनापछि सुरक्षा निकाय सक्रिय बनेको थियो।


प्रहरी प्रशासनले ती सबै गाडी नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको पहिचानका लागि छानबिन जारी रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *