काठमाडौं । राजधानीको गोंगबुस्थित निजी क्षेत्रबाट सञ्चालित विनायक अस्पताल ५५ शय्याबाट स्तरोन्नति भई १०० शय्याको सुविधासम्पन्न अस्पताल बनेको छ। अस्पतालले यो उपलब्धिलाई आफ्नो स्वास्थ्य सेवा विस्तार र गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कोसेढुंगा भएको जनाएको छ।
अस्पतालका कार्यकारी अध्यक्ष केपी लामिछानेका अनुसार ५५ शय्याबाट १०० शय्यामा स्तरोन्नति हुनु कुनै एक व्यक्तिको सफलता नभई सम्पूर्ण सञ्चालक, चिकित्सक, नर्स, कर्मचारी, सेवाग्राही, शुभेच्छुक तथा सहयोगीहरूको विश्वास, निरन्तर मेहनत र साथको प्रतिफल हो।
अध्यक्ष लामिछानेले आगामी दिनमा अझ आधुनिक प्रविधिसहित विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकको विश्वासलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हाल विनायक अस्पतालमा एक्स–रे, भिडियो एक्स–रे (फ्लोरोस्कोपी), सिटी स्क्यान, ४डी भिडियो अल्ट्रासाउन्ड, आँखा तथा दाँत उपचार लगायतका सेवा उपलब्ध छन्। यसका साथै अस्पतालले थप विशेषज्ञ सेवा विस्तार गर्दै लगेको र आफ्नै सुविधा सम्पन्न अत्याधुनिक अस्पताल भवन निर्माणको प्रक्रिया पनि अगाडि बढिरहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो।
विनायक अस्पतालले ‘पैसा नभए पनि उपचार रोकिन्न’ भन्ने मानवीय सिद्धान्तलाई आत्मसात् गर्दै सेवा दिँदै आएको जनाएको छ। आर्थिक अभावका कारण कुनै पनि बिरामीको उपचार नरोकिने र उपचारपछि रकम व्यवस्थापन गरेर पनि भुक्तानी गर्न सकिने व्यवस्था अस्पतालले मिलाएको छ।
अस्पतालले गरिब, असहाय तथा निम्न आय भएका नागरिकलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। साथै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ।
अस्पताल स्रोतका अनुसार नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाबाट उपचारका लागि आउने बिरामीलाई समेत विशेष सहुलियत प्रदान गर्ने व्यवस्था रहेको छ।
१०० शय्यामा स्तरोन्नति भएसँगै विनायक अस्पतालले राजधानीसहित आसपासका जिल्लाका नागरिकलाई अझ सहज, गुणस्तरीय, विशेषज्ञ र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
नुवाकोट पुकार


तपाईको प्रतिक्रिया दिनुहोस्