काठमाडौं, साउन ३१ — उत्पादन गरेको गोलभेडा तथा अन्य तरकारीको उचित मूल्य नपाएको भन्दै किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेडा सडकमै फालेर विरोध प्रदर्शन गरेका छन्।
‘हरियो क्रान्ति’ अभियानअन्तर्गत आयोजित प्रदर्शनमा सहभागी किसानहरूले कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि बीमा प्रभावकारी रूपमा लागू, प्रत्येक वडामा शीतभण्डार (कोल्ड स्टोर) निर्माण, किसानमैत्री बजार व्यवस्थापन तथा बिचौलियाको प्रभाव अन्त्य गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनमा सहभागी किसान आकाश कार्कीले किसानले ठूलो मेहनत गरेर उत्पादन गरेका कृषि उपजको उचित मूल्य नपाउँदा घाटा बेहोर्नुपरेको र बिचौलियाको मनपरीका कारण किसान निरन्तर मारमा परेको बताए।
किसानहरूले “कृषि बीमा लागू गर”, “एक वडा–एक शीतभण्डार बनाऊ”, “किसानलाई सही बजार सुनिश्चित गर”, “किसानको पसिनाको उचित मूल्य देऊ” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले किसानलाई सहुलियतपूर्ण कृषि ऋण, समयमै गुणस्तरीय मल–बीउको उपलब्धता तथा कृषि उत्पादनको सुनिश्चित बजार व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
किसानहरूको भनाइमा उत्पादन लागत बढ्दो क्रममा रहे पनि बजारमा उचित मूल्य नपाउँदा कृषि पेशा नै संकटमा परेको छ। समस्या समाधानका लागि सरकारले तत्काल ठोस नीति र प्रभावकारी हस्तक्षेप नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत किसानहरूले दिएका छन्।
नुवाकोट पुकार


तपाईको प्रतिक्रिया दिनुहोस्