सभामुख अर्यालको सांसदलाई आग्रह : जनतामाझ पुगेर समस्या र सुझाव संसदसम्म ल्याउनुस्

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३१, बुधबार २०:०२

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्यहरूलाई संसदीय अवकाशको समय जनतासँग प्रत्यक्ष संवादमा खर्च गर्न आग्रह गर्नुभएको छ। उहाँले जनताको गुनासा, अपेक्षा र सुझाव संकलन गरी संसदमा उठाउन सके लोकतान्त्रिक प्रणाली अझ प्रभावकारी र उत्तरदायी बन्ने बताउनुभयो।


बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले संसद र नागरिकबीचको सम्बन्ध सुदृढ हुनु लोकतन्त्रको आधार भएको उल्लेख गर्नुभयो। जनप्रतिनिधिको मुख्य जिम्मेवारी जनताको भावना संसदसम्म पुर्‍याउनु र संसदका निर्णयबारे जनतालाई जानकारी गराउनु रहेको उहाँको भनाइ थियो।


उहाँले चालु अधिवेशनमा प्रतिनिधि सभाले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयकलगायत महत्वपूर्ण प्रस्ताव पारित गरेको जानकारी दिनुभयो। साथै, अधिवेशनभर सांसदहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बैठकहरूमा अझ सक्रिय सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो।


सभामुख अर्यालले संघ, प्रदेश र स्थानीय तहबीच संविधानले परिकल्पना गरेको सहकार्य, समन्वय र सहअस्तित्वलाई व्यवहारमा प्रभावकारी बनाउन सांसदहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। स्थानीय तहका समस्या र आवश्यकतालाई संघीय तहसम्म पुर्‍याउन जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो।


सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको उल्लेख गर्दै उहाँले विद्यमान कानुनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणमा संसदले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।


सभामुख अर्यालले संसदीय विश्रामलाई जनतासँगको संवाद र अन्तरक्रियाको अवसरका रूपमा उपयोग गर्न सांसदहरूलाई आग्रह गर्दै प्रतिनिधि सभाको अर्को बैठक साउन १४ गते बस्ने जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *