काठमाडौं, ३२ असार । साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डमाथि शानदार पुनरागमन जित निकाल्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।
एटलान्टा स्टेडियममा सम्पन्न रोमाञ्चक सेमिफाइनलमा अर्जेन्टिनाले एक गोलले पछि परेको अवस्थाबाट फर्किँदै इंग्ल्यान्डलाई २–१ ले पराजित गर्यो। यससँगै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको छ।
खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। तर अन्तिम पाँच मिनेटमा कप्तान लियोनल मेसीको दुई उत्कृष्ट पासले खेलको नतिजा नै उल्टाइदियो।
८५औँ मिनेटमा मेसीको पासलाई एन्जो फर्नान्डेजले डिबक्सबाहिरबाट आकर्षक प्रहारमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई बराबरी दिलाए। त्यसपछि दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा फेरि मेसीकै पासमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।
खेलभर अर्जेन्टिनाले बल नियन्त्रणमा पनि स्पष्ट दबाब बनायो। अर्जेन्टिनाले ५ पटक लक्ष्यमा प्रहार गर्दा इंग्ल्यान्डले केवल २ पटक मात्र लक्ष्यमा प्रहार गर्न सफल भयो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट २६ वटा फाउल भएका थिए।
सन् १९६६ यता विश्वकप उपाधिको प्रतीक्षामा रहेको इंग्ल्यान्ड भने सेमिफाइनलबाटै बाहिरिएको छ। उता, तीन पटकको विश्वविजेता अर्जेन्टिना इतिहासमा सातौँ पटक विश्वकपको फाइनलमा पुगेको हो। अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
नुवाकोट पुकार


तपाईको प्रतिक्रिया दिनुहोस्