काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर वर्षाको अवस्था बनेको हो।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा मधेस, कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
मौसमविद्हरूले भारी वर्षाका कारण पहिरो, बाढी, डुबान तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
नुवाकोट पुकार


तपाईको प्रतिक्रिया दिनुहोस्