आजदेखि बृहस्पति अस्त, साउन २४ सम्म केही शुभ कार्य नगर्न ज्योतिषविद्को सुझाव

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३२, बिहीबार १०:१२

काठमाडौं । आज असार ३२ गते बिहीबार दिउँसो १२:५५ बजेदेखि बृहस्पति ग्रह पश्चिम दिशामा अस्त हुनेछ । ज्योतिषीय गणनाअनुसार अब बृहस्पति साउन २४ गते आइतबार दिउँसो १२:२४ बजे पूर्व दिशाबाट पुनः उदाउनेछ।


ज्योतिषशास्त्रमा सूर्यसँग अत्यधिक नजिक पुग्दा बृहस्पति अस्त हुने मान्यता छ। यस्तो अवधिमा बृहस्पतिले दिने शुभ प्रभाव कमजोर हुने विश्वास गरिन्छ। ज्ञान, धर्म, विवाह, सन्तान तथा शुभ कार्यका कारक ग्रहका रूपमा बृहस्पतिलाई विशेष महत्त्व दिइने भएकाले यसको अस्तकाललाई धार्मिक दृष्टिले संवेदनशील मानिन्छ।


धर्मशास्त्रका अनुसार बृहस्पति वा शुक्र अस्त भएका बेला नयाँ शुभ कार्यको आरम्भ गर्न उपयुक्त मानिँदैन। यद्यपि यस वर्ष साउन महिनामा विवाह, व्रतबन्ध, गृहप्रवेश तथा गृहआरम्भका शुभ साइतहरू नरहेकाले बृहस्पति अस्तको प्रभाव त्यस्ता कार्यमा खासै नपर्ने जनाइएको छ।


यस अवधिमा भगवान् विष्णु, बृहस्पति देव तथा भगवान् शिवको पूजा–आराधना गर्नु, पहेँलो वस्त्र लगाउनु तथा बेसार, चना, पहेँलो फलफूल र अन्न दान गर्नु शुभ मानिन्छ।


बृहस्पति अस्त भए पनि दैनिक पूजा, स्नान, सन्ध्या, तुलसी पूजा, श्राद्ध, तर्पण, ग्रहणस्नानलगायत नित्य तथा नैमित्तिक धार्मिक कर्महरू गर्न कुनै रोक नरहेको शास्त्रीय मान्यता छ। साथै साउन ९ गते पर्ने हरिशयनी एकादशीका अवसरमा तुलसी रोप्ने र चतुर्मास व्रत प्रारम्भ गर्ने कार्यमा पनि कुनै बाधा नपर्ने उल्लेख गरिएको छ।


तर मुहूर्तसम्बन्धी ग्रन्थहरूमा बृहस्पति अस्तको अवधिमा गृहप्रवेश, घर निर्माणको शुभारम्भ, मन्दिर निर्माण, देवप्रतिष्ठा, विवाह, व्रतबन्ध, छेवर, कर्णवेध, दीक्षाग्रहण, राज्याभिषेक, नयाँ तीर्थयात्रा तथा अन्य विशेष शुभ संस्कारहरू नगर्न सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *