५ लाखभन्दा माथिको जग्गा कारोबारमा अनिवार्य बैंकिङ भुक्तानी गर्नुपर्ने व्यवस्था लागू(सूचनासहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३२, बिहीबार १६:२९

नुवाकोट, असार ३२ — भूमि प्रशासन कार्यालय, नुवाकोटले पाँच लाख रुपैयाँ वा सोभन्दा बढी रकमको जग्गा खरिद–बिक्री कारोबारमा बैंकिङ वा विद्युतीय माध्यमबाट गरिएको भुक्तानीको प्रमाण अनिवार्य हुने जनाएको छ।


कार्यालयले बिहीबार सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/०८४ देखि लागू हुने व्यवस्थाअनुसार पाँच लाख रुपैयाँ वा सोभन्दा बढी रकमको जग्गा लिखत रजिष्ट्रेशन पारित गर्दा रकम बैंकिङ प्रणालीमार्फत भुक्तानी भएको पुष्टि गर्ने प्रमाण पेश गर्नुपर्ने जनाएको हो।


सूचनाअनुसार लिखत रजिष्ट्रेशनका क्रममा क्रेता र विक्रेताबीच भएको रकम भुक्तानीको प्रमाण प्यान नम्बर सहित पेश गर्नुपर्नेछ। भुक्तानी पुष्टि गर्न बैंक स्टेटमेन्ट, बैंक ट्रान्सफर (Fund Transfer), RTGS, ConnectIPS, मोबाइल वा इन्टरनेट बैंकिङको कारोबार विवरण, बैंकबाट क्लियर भएको चेकको प्रमाण वा प्रचलित कानुनअनुसार मान्य अन्य बैंकिङ प्रमाण पेश गर्न सकिने उल्लेख गरिएको छ।


कार्यालयले केवल साधारण चेक जारी गरिएको प्रमाणलाई अन्तिम भुक्तानीको प्रमाणका रूपमा स्वीकार नगर्ने स्पष्ट पारेको छ। वास्तविक रूपमा रकम भुक्तानी भएको पुष्टि हुने बैंकिङ प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।


भूमि प्रशासन कार्यालयका प्रमुख भूमि प्रशासन अधिकृत धर्मराज रोक्काले हस्ताक्षर गरेको सूचनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण सम्बन्धी व्यवस्था, राष्ट्र बैंकको परिपत्र तथा एकीकृत निर्देशनअनुसार यो व्यवस्था लागू गरिएको जनाइएको छ।


कार्यालयले सबै सेवाग्राहीलाई आवश्यक बैंकिङ प्रमाणसहित मात्रै जग्गा खरिद–बिक्री सम्बन्धी लिखत रजिष्ट्रेशनका लागि उपस्थित हुन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *