काठमाडौं। नेपाल शिक्षक महासंघले प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका क्रममा दुर्गेगे थापा र प्रियंका कार्कीले गाएको गीत सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त गीतले महिला शिक्षकप्रति अमर्यादित शब्द र भाव प्रयोग गरी समग्र शिक्षक समुदायको गरिमामाथि आघात पुर्याएको जनाएको हो।
महासंघले गीतमा प्रयोग गरिएका शब्द र प्रस्तुतिले शिक्षक तथा शिक्षण पेसाको सम्मानमा ठेस पुगेको उल्लेख गर्दै उक्त गीतलाई तत्काल बन्द गर्न तथा चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित पक्षसँग माग गरेको छ।
विज्ञप्तिमा गीतलाई यथावत् सार्वजनिक तथा प्रयोग गरिरहे त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै लिनुपर्ने चेतावनी दिइएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक समुदायको सम्मान र मर्यादा कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्