नुवाकोटमा घर लिलामी प्रकरण : घरधनीले नै भनिन्– ‘मेरो आग्रहमा लामाले घर सकार गर्नुभयो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २, शनिबार १२:५४

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामा र ज्योति विकास बैंकमार्फत लिलामीमा परेको घरजग्गाकी धनी च्याउकीमाया तामाङले संयुक्त रूपमा सार्वजनिक अपिल जारी गर्दै आफूहरूमाथि लगाइएका ‘सेटिङमा घरजग्गा लिलामी गरिएको’ भन्ने आरोप निराधार रहेको बताएका छन्।


संयुक्त अपिलमा तामाङले ज्योति विकास बैंकले कानुनी प्रक्रियाअनुसार तोकेको लिलामी मूल्यमा आफ्नो घरजग्गा बहादुरसिंह लामाले सकार गरेको स्पष्ट पारेकी छन्। उनले हालसम्म पनि आफू पक्षाघात (प्यारालाइसिस) भएका श्रीमानसँग सोही घरमा बसोबास गरिरहेको र आफूलाई घरबाट ननिकालिएको उल्लेख गरेकी छन्।


तामाङका अनुसार आर्थिक समस्याका कारण लिलामीमा पुगेको सम्पत्ति जोगाउन नसकेपछि आफ्नै आग्रह र अनुनय–विनयमा लामाले लिलामी सकार गरेका हुन्। उनले लामाले आफू सक्षम हुने अवस्थामा सोही मूल्य तिरेर घरजग्गा फिर्ता लिन सकिने भन्दै पटक–पटक आग्रह गर्दै आएको पनि सार्वजनिक रूपमा उल्लेख गरेकी छन्।

किस्पाङ–३ निवासी च्याउकी माया तामाङले काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित आफ्नो घरजग्गा धितो राखी चार वर्षअघि ज्योति विकास बैंकको नेपालटार शाखाबाट घर निर्माण कर्जा लिनुभएको थियो। तर चार वर्षसम्म सावाब्याज चुक्ता नभएपछि बैककले लिलामीीमा निकालेकाे थियाे ।


लामाले पनि सामाजिक सञ्जालमा आफूले कहिल्यै नचिनेका व्यक्तिहरूले ‘सेटिङमा घर लिलामी गरेको’ भन्दै फैलाएको प्रचार पूर्ण रूपमा झुटो र भ्रामक भएको बताएका छन्। उनले यसअघि पनि यस विषयमा स्पष्टीकरण दिइसकेको उल्लेख गर्दै सत्य तथ्य नबुझी गरिएको दुष्प्रचारले आफ्नो चरित्रमाथि आघात पुर्‍याउने प्रयास भएको बताएका छन्।


तामाङले आफ्नो नाम जोडेर लामाविरुद्ध भइरहेको दुष्प्रचारमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै त्यस्ता प्रचार गर्ने व्यक्तिहरूलाई आफूले नचिनेको दाबी गरेकी छन्।


शुक्रबार सामाजिक सञ्जालमा उक्त विषय व्यापक रूपमा सार्वजनिक भएपछि कांग्रेस नेता लामाले औपचारिक स्पष्टीकरण दिएका थिए भने ज्योति विकास बैंकले पनि लिलामी प्रक्रिया कानुनी मापदण्डअनुसार सम्पन्न भएको स्पष्ट पारेको थियो।


लामा पक्षले नियोजित रूपमा भ्रम फैलाइएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउने व्यक्तिविरुद्ध साइबर ब्यूरोमा उजुरीसमेत दर्ता गरिसकेको जनाएको छ। साथै, सत्यलाई स्थापित गर्न सहयोग पुर्‍याउने सबै नागरिकप्रति उनीहरूले संयुक्त अपिलमार्फत आभार व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *