प्रेमिकासँग विवाह गराइदिन माग गर्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवकको सकुशल उद्धार

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३, आईतवार ११:२५

सर्लाही । सर्लाहीको मलंगवामा एक युवक प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका छन्। आइतबार बिहान गोडैता नगरपालिका–९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका हुन्।
टावरमा पुगेपछि उनले आफ्ना एक साथीलाई फोन गरेर आफू माथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई खबर गरिएको थियो।


प्रहरीका अनुसार हुसेनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न पाउनुपर्ने माग राख्दै टावरबाट हाम फाल्ने चेतावनी दिएका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार अभियान सञ्चालन गरेको थियो।


सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार प्रहरीको निरन्तर सम्झाइ–बुझाइपछि हुसेनलाई सकुशल टावरबाट तल झारिएको छ।


प्रारम्भिक जानकारीअनुसार हुसेन सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत छन्। उनी र सोही क्याम्पसमा अध्ययन गर्ने एक युवतीबीच प्रेम सम्बन्ध रहेको बताइए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *