काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा हाललाई मुल्तवीमा राख्न अस्वीकार गरेको छ।
न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले डा. महतकी पत्नी रोशना महतले दिएको निवेदन खारेज गर्दै प्रतिवादी अदालतमा उपस्थित भएपछि स्वास्थ्य अवस्था हेरेर आवश्यक कानुनी आदेश दिन सकिने जनाएको हो।
रोशना महतले डा. महत गम्भीर मानसिक रोगबाट पीडित रहेको, स्मरणशक्ति गुमेको र आफ्नो प्रतिरक्षा गर्न असमर्थ रहेको दाबी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ अनुसार मुद्दा मुल्तवीमा राख्न माग गरेकी थिइन्।
तर विशेष अदालतले प्रतिवादी अदालतमा उपस्थित भएपछि स्वास्थ्य अवस्था मूल्याङ्कन गरी आवश्यक निर्णय लिन सकिने भएकाले हालका लागि मुद्दा स्थगित गर्न नमिल्ने आदेश दिएको छ।
डा. महतविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन छ।
उक्त मुद्दामा पूर्वमन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्यसहित ५६ जनाविरुद्ध करिब ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्