आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी पानी पर्ने चेतावनी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ११, सोमबार ०७:५९

काठमाडौं । मनसुनी प्रणाली सक्रिय रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा हुने र केही क्षेत्रमा भारी वर्षा पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


विभागका अनुसार दिउँसो कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागसँगै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।


आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रही मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, मधेस, बागमती र गण्डकीका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।


मौसमविद् विनोद पोखरेलका अनुसार आज साँझदेखि भोलिसम्म देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहे पनि पूर्वी तराईका धेरै क्षेत्रमा भने वर्षा कम हुन सक्छ।


हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेकाले वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ। विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *