रामायणको भूगोल र इतिहास ः आस्थाको सीमा कि वस्तुनिष्ठ अनुसन्धान ?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २७, बुधबार ०९:१८


सफलता बोगटी
रामायण आदिकाव्य हो कि ऐतिहासिक दस्तावेज ? राम पौराणिक पात्र हुन् कि इतिहासका शासक ? अनि आदिकवि वाल्मीकिले रचना गरेको यो कालजयी ग्रन्थको मूल थलो कुन हो? दशकौँदेखि उठ्दै आएका यी प्रश्नहरू केवल धार्मिक वा साहित्यिक बहसमै सीमित रहेका छैनन् ।

समय–समयमा राजनीतिक र द्विदेशीय कूटनीतिक अखडासम्म आइपुग्ने गरेका छन् । नेपालमा पनि रामायण र वाल्मीकिको सम्बन्धलाई लिएर विभिन्न दाबीहरू हुँदै आएका छन्। विशेष गरी प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’को ‘रामकथा’ (२०४१) पुस्तकमा ‘नेपाल माहात्म्य’ र ‘भाषा वंशावली’लाई उद्धृत गर्दै काठमाडौँ उपत्यकाको भक्तपुर (चाँगुनारायण क्षेत्र) मा वाल्मीकिले रामायण रचना गरेको निष्कर्ष निकालिएको थियो । अर्कोतर्फ, नवलपरासीको भैँसालोटन (त्रिवेणी) मा वाल्मीकि आश्रम रहेको दाबीलाई पञ्चायतकालीन राष्ट्रवादको लहरसँग जोडेर अघि बढाइयो । तर, ऐतिहासिक प्रमाण, भौगोलिक सुसंगति र पुरातात्विक अध्ययनको कसीमा यी दाबीहरू कत्तिको वस्तुनिष्ठ ठहरिन्छन् ? यस विषयमा वरिष्ठ आख्यानकार तथा अध्येता मदनमणि दीक्षितले साढे तीन दशकअघि उठाएका तर्कहरू आज पनि उत्तिकै सान्दर्भिक छन्।वाल्मीकि रामायणको आफ्नै भौगोलिक साक्ष्य कुनै पनि ग्रन्थको रचनास्थल ठम्याउन बाह्य स्रोत (जस्तै मल्लकालीन मानिने ‘नेपाल माहात्म्य’) भन्दा पहिले स्वयम् सोही ग्रन्थभित्रको आन्तरिक साक्ष्यलाई केलाउनु वैज्ञानिक शोधको प्राथमिक नियम हो। वाल्मीकि रामायण स्वयम्ले आफ्नै भूगोलबारे स्पष्ट संकेत गर्छःतमसा र जाह्नवीको सामीप्यः वाल्मीकिले तमसा नदीको किनारमा क्रौञ्च वध देखेको प्रसङ्गमा “जगाम तमसातीरं जाह्नव्यास्त्वविदूरतः” (जाह्नवी÷गङ्गाबाट नजिकै रहेको तमसा) भनेका छन् । तर, भैँसालोटन वा भक्तपुरका साना खोलाहरूलाई गङ्गा (जाह्नवी) को ष् immediate सामीप्यमा रहेको मान्न सकिँदैन। भारतको बुन्देलखण्ड क्षेत्रको ‘तौँसा’ (तमसा) नदी गङ्गाको नजिक पर्ने भएकाले यसको सङ्गति त्यहाँ बढी मिल्छ ।


चित्रकूट र वाल्मीकि आश्रमः अयोध्याकाण्ड (५६।१६) अनुसार वनबासका क्रममा राम, सीता र लक्ष्मणले यमुना पार गरेर चित्रकूट पुग्दा वाल्मीकिलाई भेटेका थिए । यदि वाल्मीकि आश्रम काठमाडौँ वा भैँसालोटनमा हुन्थ्यो भने यमुना पार गरेर चित्रकूट पुग्ने प्रसङ्ग भौगोलिक रूपमा मेल खाँदैन । हिमाली र उपत्यकाको प्रकृतिको अनुपस्थितिः रामायणमा दक्षिण र पश्चिम भारतको प्रकृति र भूगोलको सूक्ष्म वर्णन छ। किष्किन्धाकाण्डमा सुग्रीवले चारै दिशामा बानर सेना पठाउँदा उत्तर दिशाको वर्णनमा चरम भौगोलिक भ्रमहरू देखिन्छन् । यदि काठमाडौँ उपत्यकामा बसेर रामायण लेखिएको भए यहाँबाट देखिने सुन्दर हिमशृङ्खला, हरियाली र उपत्यकाको विशिष्ट भौगोलिक सौन्दर्यको प्रभाव आदिकाव्यमा अवश्य पथ्र्यो। तर रामायण यस्ता वर्णनहरूबाट बिलकुल अछूतो छ । वनस्पति र पुरातात्विक विरोधाभासः ‘नेपाल माहात्म्य’ले रामायण रचना गर्दा नरिवल, खजुर, आँप, कटहर र मौलसरीका रुखहरू भएको बगैँचाको वर्णन गर्छ, जुन काठमाडौँ उपत्यकाको प्राकृतिक हावापानीसँग मेल खाँदैन। साथै, रामायणमा धातु र इँटाका बहुतले घरहरूको वर्णन छ, जबकि उपत्यकामा ई.पू. १०० भन्दा पुराना त्यस्ता इँटा वा धातुका घरका पुरातात्विक अवशेष भेटिएका छैनन्।


भैँसालोटनको ‘निर्मित’ इतिहासनवलपरासीको भैँसालोटनमा वाल्मीकि आश्रम स्थापना हुनुमा पुरातात्विक भन्दा पनि तत्कालीन राजनीतिक परिस्थितिको प्रभाव देखिन्छ। २०१७ सालपछि नेपालमा उर्लिएको राष्ट्रवाद र गण्डक सम्झौतापछिको उत्पन्न स्थितिका बीच भारतका महन्त धनराजपुरी र तत्कालीन अञ्चलाधीश ताराप्रसाद उपाध्यायको पहलमा भैँसालोटनमा वाल्मीकि स्मृति समिति गठन गरियो।पछि इन्दिरा गान्धीको कार्यकालमा भारतको पुरातात्विक सर्वेक्षण (ASI) र नेपालका तर्फबाट जनकलाल शर्मासहितको संयुक्त शोधदलले अध्ययन गर्दा त्यहाँ १२ औँ–१३ औँ शताब्दी (सेन काल) का केही मूर्तिबाहेक वाल्मीकि रामायणकालीन कुनै पनि अवशेष भेट्टाउन सकेन। पुरातत्वविद् डा. वासुदेवशरण अग्रवालले समेत यसलाई वाल्मीकि आश्रम भनेर प्रमाणित गर्न मानेका थिएनन्। अर्थात्, वैज्ञानिक कसीमा भैँसालोटनको दाबी एक निर्मित लोकश्रुति ( Myth_) मात्र ठहर्छ । बहु–रामायण परम्परा र क्षेत्रीय रूपान्तरण रामायण केवल एउटा निश्चित पाठमा सीमित छैन । बम्बई पाठ, बङ्गाल पाठ र काश्मीर पाठ गरी संस्कृतकै तीन प्राचीन पाण्डुलिपिहरूमा एक–तृतीयांश अंशहरू फरक छन् । विद्वान्हरूका अनुसार मूल कथा प्राकृत भाषाको मौखिक परम्परामा जीवित थियो, जुन कालान्तरमा संस्कृतमा रूपान्तरित भयो।यति मात्र होइन, भारतका विभिन्न भागमा पाइने ‘अद्भुत रामायण’, ‘ज्ञान वाशिष्ठ’ वा ‘सीता विजय’ जस्ता ग्रन्थहरूमा कथाका स्वरूप अझै भिन्न छन्। ‘सीता विजय’मा त सीता स्वयम्ले युद्धमा रावणको वध गर्छिन् । दक्षिण भारत, थाइल्यान्ड (रामकिएन) र जाभाका आफ्नै मौलिक रामकथाहरू छन् । यसले के देखाउँछ भने, रामकथा दक्षिण र दक्षिण–पूर्वी एसियाको साझा सांस्कृतिक विम्ब हो, जसलाई प्रत्येक भूगोल र समाजले आफ्नो अनुकूलतामा ढालेका छन्।आफ्नो भूमिमा ऐतिहासिक वा पौराणिक धरोहरहरू रहेको दाबी गर्नु राष्ट्रिय स्वाभिमानका दृष्टिले लोभलाग्दो हुन सक्छ । तर, इतिहास र साहित्यको अध्ययन भावुकता वा पञ्चायतीकालीन राष्ट्रवादको जगमा होइन, कडा पुरातात्विक र पाठकीय ( Textual) प्रमाणका आधारमा गरिनुपर्छ।


मध्यकालीन मल्लकालीन रचना ‘नेपाल माहात्म्य’ वा ‘हिमवत्खण्ड’का धार्मिक अतिशयोक्तिलाई नै अन्तिम सत्य मानेर ‘रामायण नेपालमै लेखिएको हो’ भन्नु वैज्ञानिक शोध–चेतना विपरीत हुन्छ । पाणिनी, कालिदास, वा रावणको जन्मस्थल बागलुङमा खोज्ने वा भीमफेदीमा भीमसेनको पाइला देख्ने लहडी दाबीहरूले हाम्रा वास्तविक ऐतिहासिक तथ्यहरूलाई समेत कमजोर बनाउँछन् । रामायण हाम्रो सांस्कृतिक एवं पूर्वीय दर्शनको असीम धरोहर हो । यसलाई प्रादेशिक वा राजनीतिक सङ्कुचितताभन्दा माथि राखेर वस्तुनिष्ठ, निष्पक्ष र वैज्ञानिक अनुसन्धानको विषय बनाउनु नै आदिकाव्य र आदिकविप्रतिको सच्चा सम्मान हुनेछ । )बोगटी राजनीतिक बिश्लेषक राजनीतिशास्त्र स्नाकोत्तर युवा नेतृ हु्न)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *