राप्रपामा भाडभैलो,प्रदेशको निर्णय कार्यान्वयन नगर्न बागमती प्रदेश प्रमुखलाई केन्द्रको पत्र

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३, बुधबार १५:४५


काठमाडौं । राप्रपा बागमती प्रदेश संसदीय दलको निर्णयलाई कार्यान्यवन गर्ने भन्दै केन्द्रले प्रदेश प्रमुखलाई पत्र पठाएर पार्टीको समर्थनलाई मान्यता नदिन आग्रह गरेको छ।

बागमती प्रदेश राप्रपा संसदीय दलले नेकपा एमालेका सांसद किरण थापालाई मुख्यमन्त्रीमा दाबी पेस गर्दा आज समर्थन जनाएको पत्र दिएकोमा उक्त पत्रलाई मान्यता नदिन राप्रपाले प्रदेश प्रमुखलाई आग्रह गरेको हो। ‘भदौ १ गते पार्टीको बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको क्रममा तटस्थ बस्न दिइएको निर्देशन विपरीत प्रदेश सरकार निर्माणमा संसदीय दलको नेताले समर्थन दिएको भन्दै हस्ताक्षर सार्वजनिक हुनु गम्भीर अनुशासन उल्लंघन हो। पार्टीको अनुशासन समितिले यसबारे आवश्यक प्रक्रिया प्रारम्भ गरिसकेको छ,’ प्रदेश प्रमुखलाई पठाइएको पत्रबारे उल्लेख गर्दै प्रवक्ता मोहन श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बागमती प्रदेशमा सरकार निर्माणका लागि राप्रपाको सांसदहरूको समर्थन भनि प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा राप्रपाको समर्थन नरहेको र सो पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध एवं पत्राचार समेत गरिएको छ।’

बागमती प्रदेश सरकार निर्माण गर्न राप्रपाको समर्थन भन्ने समाचारमा गम्भीर ध्यानाकर्षण भएको पनि उनले उल्लेख गरेका छन्।

‘सरकार निर्माणमा राप्रपाको सहमति भन्ने विषयमा कुनै सत्यता छैन। गत साउन २० गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपा सरकार निर्माणको कुनै गणितीय चलखेलमा सहभागी नहुने र कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने अधिकार अध्यक्षलाई प्रदान गरिएको थियो,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *