नुवाकोट । नुवाकोटका १२ स्थानीय तहमध्ये सबैभन्दा अन्तिममा लिखु गाउँपालिकाले आफ्नो प्रमुख प्रशासकीय भवन निर्माणको प्रक्रिया अघि बढाएको छ। आवश्यक जग्गा प्राप्ति भएपछि गाउँपालिकाले नयाँ प्रशासकीय भवन निर्माणको औपचारिक सुरुवात गरेको हो।
गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले उपाध्यक्ष सुभद्रा अधिकारी र प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टलगायतको उपस्थितिमा भवनको शिलान्यास गर्नुभएको छ। केही महिनाअघि मात्रै गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्त गरेको थियो।
शिलान्यास समारोहमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश), उपाध्यक्ष बिमला केसी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
नुवाकोटका अन्य स्थानीय तहले यसअघि नै आफ्ना प्रशासकीय भवन निर्माण गरिसकेका वा निर्माण प्रक्रिया अघि बढाइसकेका अवस्थामा लिखु भने लामो समयसम्म आफ्नै व्यवस्थित प्रशासकीय भवनविहीन रहँदै आएको थियो। जग्गा व्यवस्थापन हुन नसक्दा भवन निर्माणको काम अघि बढाउन कठिनाइ हुँदै आएकोमा केही महिनाअघि जग्गा प्राप्त भएपछि निर्माणको बाटो खुलेको हो।
लिखु गाउँपालिकाको नेतृत्व विगत करिब नौ महिनादेखि नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष ध्रुव श्रेष्ठले गर्दै आउनुभएको छ। श्रेष्ठको नेतृत्वमा प्रशासकीय भवन निर्माणको काम सुरु भएको भए पनि भवन निर्माणको तयारी र जग्गा प्राप्तिको प्रक्रिया अघिल्ला चरणमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
यद्यपि, अध्यक्ष श्रेष्ठको नेतृत्वमा अन्य विकास निर्माणका काम भने उत्साहजनक रूपमा अघि बढिरहेको स्थानीयको भनाइ छ। सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा नागरिक सेवा सुधारलगायतका क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको स्थानीय बताउँछन्।
नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाका विभिन्न शाखा तथा सेवा कक्षलाई एउटै व्यवस्थित संरचनाभित्र सञ्चालन गर्न सकिनेछ। यसले सेवाग्राहीले भोग्दै आएका स्थान अभाव, कार्यालय व्यवस्थापन तथा सेवा लिन विभिन्न स्थानमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
भवन शिलान्यास गर्दै अध्यक्ष श्रेष्ठले निर्माण कार्य तोकिएको समयभित्रै गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिनुभएको छ। उहाँले भवनलाई केवल कार्यालय सञ्चालन गर्ने भौतिक संरचनाका रूपमा नभई गाउँपालिकाको दीर्घकालीन विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाहसँग जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा निर्माण गर्न आग्रह गर्नुभएको छ।
लिखु गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुनु स्थानीयका लागि लामो समयदेखिको प्रतीक्षाको विषय पूरा हुने चरणका रूपमा लिइएको छ। आफ्नै व्यवस्थित भवनबाट सेवा पाउने भएपछि गाउँपालिकाको प्रशासनिक कार्यसम्पादनसँगै नागरिकले पाउने सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
स्थानीयको भनाइमा, ‘ढिलो भए पनि अब लिखुले आफ्नै घर पाएको छ।’ अब भवन निर्माणको गुणस्तर र समयसीमा कायम गर्दै परियोजना सम्पन्न गर्नु गाउँपालिकासामु अर्को महत्वपूर्ण चुनौती बनेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्