काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ। हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपात र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।
यस्तै, कोसी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेस, वाग्मती र गण्डकीका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले आगामी दिनमा पनि देशका विभिन्न भूभागमा वर्षाको गतिविधि जारी रहने विभागले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्