काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएका असन्तुष्टि र विवादलाई अदालतमा लैजानुभन्दा सानेपामा बसेर राजनीतिक संवादमार्फत समाधान गर्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
पौडेलले शुक्रबार एक अपिल जारी गर्दै अहिले मुलुक कठिन राजनीतिक परिस्थितिबाट गुज्रिरहेको भन्दै नेपाली कांग्रेस आफैंभित्रको बेमेल र असन्तुष्टिले कमजोर बन्न नहुने बताएका हुन्। उनले पार्टी विभाजित हुने अवस्था आए लोकतन्त्र र मुलुक नै कमजोर बन्ने जोखिम रहेको उल्लेख गरेका छन्।
‘नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन,’ पौडेलले भनेका छन्, ‘राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ।’
उनले पार्टीभित्र फरक मत राख्ने नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आफ्ना असहमति लिएर सानेपा आउन आग्रह गरेका छन्। विगतका कमजोरीमा सबैको सामूहिक जिम्मेवारी रहेको स्वीकार गर्दै आगामी १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी कार्यकर्ताले सुम्पिएको नेतृत्व स्वीकार गर्नुपर्नेमा उनले जोड दिएका छन्।
पौडेलले सत्ता प्राप्ति नेपाली कांग्रेसका अग्रजहरूको मुख्य ध्येय नरहेको उल्लेख गर्दै पार्टी स्थापनाका आधारभूत मूल्य–मान्यता संकटमा पर्न नदिन सबै एकजुट हुनुपर्ने बताएका छन्।
उनले पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सरकारलाई आवश्यक खबरदारी गर्न पनि कांग्रेस सशक्त र एकताबद्ध हुनुपर्ने बताएका छन्। ‘हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन,’ पौडेलले अपिलमा भनेका छन्।
देशले कांग्रेसबाट एकता र अभिभावकत्व खोजिरहेको भन्दै उनले सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन र नेपाल तथा नेपाली जनताको भविष्यका लागि एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।
अपिलको अन्त्यमा पौडेलले ‘विनाशर्त सानेपा आउन’ सबै असन्तुष्ट नेता, कार्यकर्ता र शुभेच्छुकलाई हार्दिक आग्रह गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्