काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पेस गरेको रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता हुन सकेन।
संस्थापन पक्षले एकलौटी रूपमा अघि बढाएको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्काले छुट्टाछुट्टै रिट पेस गरेका थिए। दिउँसो खाजा समयपछि पेस गरिएका रिटको अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले शुक्रबार दर्ता नगरेको हो।
तर, रिट दर्ता नहुनुको कारण प्रशासनले बताएभन्दा फरक रहेको स्रोतको दाबी छ। निकटस्थ स्रोतका अनुसार शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा. मनोज शर्मा र मुख्य रजिस्टार विमल पौडेल उपस्थित थिएनन्। महत्वपूर्ण प्रकृतिको रिट भएकाले प्रशासनका प्रमुख अधिकारी तथा प्रधानन्यायाधीशको अनुपस्थितिमा दर्ता प्रक्रिया अघि नबढाइएको स्रोतले जनाएको छ।
सर्वोच्च प्रशासनले रिट पेस गर्ने पक्षलाई सोमबार पुनः आउन भनेको छ। देउवा र खड्काले वारेसमार्फत रिट सर्वोच्चमा पेस गरेका हुन्। देउवाका तर्फबाट कांग्रेस नेता दीपक खड्का र खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार वारेस बनेका थिए।
रिटमा महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय तथा त्यससँग सम्बन्धित कामकारबाही बदर गर्न उत्प्रेषणको आदेश माग गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्