कांग्रेसमा १५औँ महाधिवेशन विवाद : संस्थापनइतरले भन्यो– ‘अवैधानिक महाधिवेशनमा सहभागी नहुनुस्’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ५, शुक्रबार १८:५३

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला संस्थापनइतर समूहले पार्टीका नेता तथा कार्यकर्तालाई विभाजनकारी गतिविधिमा सहभागी नहुन अपिल गरेको छ।


१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीभित्रको विवाद समाधानका लागि सांगठनिक तथा भावनात्मक एकता आवश्यक रहेको उल्लेख गरिएको छ।


विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।


समितिले पार्टीको वर्तमान अवस्था समानान्तर रूपमा विभाजित हुँदै गएको भन्दै यस्तो अवस्थामा विशेष महाधिवेशन वा महाधिवेशन गरिए पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुने दाबी गरेको छ। त्यसले आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई नकारात्मक असर पार्ने निष्कर्ष समितिको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सुदृढ, सबल र गतिशील कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो।’


समितिले कथित विशेष महाधिवेशन पक्षबाट हुन लागेको भनिएको अवैधानिक तथा विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न तथा नगराउन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य र क्रियाशील सदस्यलाई हार्दिक अपिल गरेको छ।
यसअघि कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया र त्यसको वैधानिकताबारे विवाद बढ्दै गएको छ। संस्थापनइतर समूहले महाधिवेशन प्रक्रिया रोक्न कानुनी बाटोसमेत रोजेको छ।

यस्तो छ विज्ञप्ति-

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारितासम्बन्धी विवादको मुद्दामा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्मानित सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णय-आदेश उपर पुनरावलोकन गरि पाउँ भनि निवेदन दिई उक्त मुद्दा सुरूदेखिनै हेर्ने गरी सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासवाट पुनरावलोकनको अनुमति (निस्सा) पाइसकेको अवस्थामा सो मुद्दा हाल सम्मानित सर्वोच्च अदालतमा  विचाराधीन रहेको सवैलाई अवगतनै छ।

यो अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५ औं महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

सुदृढ, सबल र गतिशील कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो भन्ने हाम्रो निश्कर्ष र प्रतिबद्धता रहेको छ। कथित विषेश महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रूपले विभाजित रहेको छ।

यस्तो गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गर्‍यो भने पार्टीका सबै तहमा संरचनागत रूपमा विभाजनको प्रकृया सुरू हुने स्पष्ट देखिन्छ र आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हाम्रो ठहर छ।

तसर्थः तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न/नगराउन तथा यस्ता कृयाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपील गर्दछौं।

जय नेपाल

शशांक कोइराला, संयोजक

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *