संवादबाटै समाधान खोज्न विश्वप्रकाश शर्माको आग्रह, अदालतभन्दा पार्टी कार्यालय रोज्न सुझाव

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ६, शनिबार १३:२७

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको विवाद अदालतको ढोकाबाट नभई पार्टी कार्यालयमा बसेर संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।


शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’ कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीभित्रका सबै पक्षलाई संवाद र सहमतिका आधारमा अघि बढ्न आग्रह गरेका हुन्। उनले कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको उल्लेख गर्दै संस्थापन इतर पक्षका नेताहरूलाई पनि एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन आह्वान गरे।


शर्माले संविधान र कानुनले मुद्दा मामिलाको बाटो खुला गरे पनि त्यसले मात्रै राजनीतिक समस्या समाधान गर्न नसक्ने धारणा राखे। उनले पार्टीभित्रको मतभेदलाई अदालतमा लैजानुभन्दा पार्टीकै संरचनाभित्र छलफल गरेर निष्कर्षमा पुग्नु उपयुक्त हुने बताए।


उनले असोजमा हुने १५औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सबैलाई समान अवसर रहेको उल्लेख गर्दै विशेष महाधिवेशनबाट आएको नेतृत्व स्थायी नभएको स्पष्ट पारे। सभापति, उपसभापति, महामन्त्रीलगायतका पदमा उम्मेदवारी दिन इच्छुक सबैका लागि ढोका खुला रहेको उनको भनाइ थियो।


“अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्छ,” शर्माले भने। उनले आगामी महाधिवेशनलाई नेतृत्व चयनको लोकतान्त्रिक अवसरका रूपमा लिन आग्रह गरे।


हाल विशेष महाधिवेशनको वैधानिक प्रक्रियालाई लिएर कांग्रेसभित्र विवाद चुलिएको छ। उक्त विषय अदालतसम्म पुगेको छ भने संस्थापन इतर समूहले असोजमा घोषणा गरिएको महाधिवेशन रोक्न कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। यस्तो अवस्थामा शर्माले संवाद, सहमति र एकताको माध्यमबाट विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *