काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पूर्वप्रधानमन्त्री एवं पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग भेट गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। लामो समयको उपचारपछि स्वदेश फर्किनुभएका देउवाको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी पाउँदा आफू खुशी भएको महरले बताएका छन्।
भेटका क्रममा नेता महरले पार्टीभित्र देखिएको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माण गर्न देउवाको भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन्। आफूले पार्टीभित्र एकताका लागि सभापति गगनकुमार थापालगायत सबै पक्षसँग संवाद गरिरहेको पनि उनले देउवालाई जानकारी गराएका छन्।
महरले सभापति गगनकुमार थापा र देउवाबीच भेटघाट तथा प्रत्यक्ष संवादको आवश्यकता समेत औँल्याएका छन्। त्यस क्रममा देउवाले आफू पनि पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्न पहल गरिरहेको बताउँदै अदालतको निर्णय आएपछि त्यसअनुसार अघि बढ्ने धारणा राखेको महरले बताएका छन्।
डडेल्धुराका नेता महर यसअघि देउवाका विश्वासपात्रका रूपमा चिनिन्थे। देउवा पाँच पटक निर्वाचित भएको डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका महर भने पछिल्लो निर्वाचनमा पराजित भएका थिए। पछिल्लो समय उनी देउवा पक्षबाट बाहिर रहे पनि कांग्रेसभित्र एकता कायम गर्न सक्रिय रूपमा लबिङ गर्दै आएका छन्।
महरले कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै दुवै पक्षलाई सहमतिका लागि निरन्तर दबाब दिँदै आएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्