रास्वपा सांसद सिंहकै सरकारविरुद्ध आक्रोश : ‘समाजमा अराजकता र असन्तुष्टि बढ्यो’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ८, सोमबार १५:१८



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले आफ्नै नेतृत्वको सरकारको कार्यशैलीप्रति सदनमा असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले रास्वपाको नेतृत्वमा सरकार गठन भएयता समाजमा अराजकता, हिंसा र सामाजिक असन्तुष्टि बढ्दै गएको बताएका हुन्।


उनले पछिल्ला विभिन्न घटनालाई कुनै एक स्थान, समुदाय वा विषयसँग मात्र जोडेर हेर्न नहुने भन्दै समग्र सामाजिक अवस्थाको समीक्षा गर्न सरकारलाई आग्रह गरे। यस्ता घटनाले सरकारप्रति नागरिकको विश्वास र भरोसा कमजोर हुँदै गएको संकेत गरिरहेको उनको भनाइ थियो।


सिंहले बारा र सप्तरीमा भएका घटनादेखि धार्मिक तथा सामाजिक सद्भाव, मिटरब्याज, लघुवित्त पीडित र चिकित्सकसँग सम्बन्धित विवादसम्मका विषय उठाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न गरे।
‘हाम्रो समाज कतातिर गइरहेको छ ?’ भन्ने प्रश्न गर्दै उनले सरकार गठन भएयता विभिन्न क्षेत्रमा असन्तुष्टि र तनावका घटना दोहोरिरहेको बताए। हत्या, हिंसा, बलात्कार तथा विभिन्न आन्दोलनका कारण सर्वसाधारण प्रभावित भइरहेको उल्लेख गर्दै उनले राज्यप्रतिको भरोसा कमजोर हुँदा अपराध र बेथिति बढ्ने चेतावनी दिए।


‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ,’ उनले भने। पछिल्ला घटनाको कारण पहिचान गरी समाधान खोज्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षबीच गम्भीर छलफल आवश्यक रहेको सिंहले बताए। घटनापछि प्रतिक्रिया जनाउनेभन्दा समस्या दोहोरिन नदिने गरी सरकारले दीर्घकालीन उपाय अपनाउनुपर्नेमा उनले जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *