हेटौँडा । वाग्मती प्रदेशमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच नयाँ सत्ता समीकरण औपचारिक रूपमा अघि बढेको छ । मुख्यमन्त्री किरण थापामगर नेतृत्वको सरकारलाई प्रभावकारी र स्थिर रूपमा सञ्चालन गर्ने उद्देश्यसहित तीन दलबीच सत्ता साझेदारीसम्बन्धी समझदारी भएको हो ।
समझदारीअनुसार प्रदेश सरकारमा हाल कायम मन्त्रालयको संख्या नबढाई आठवटै मन्त्रालय कायम गरिने भएको छ । सरकारमा सहभागिता र जिम्मेवारी बाँडफाँट गर्दा तीनै दलको प्रदेशसभामा रहेको दलीय हैसियतलाई आधार बनाइने सहमति भएको छ ।
प्रदेशसभाको रिक्त सभामुख पदमा भने नेकपाबाट निर्वाचित गर्ने समझदारी बनेको छ । त्यस्तै, सरकार सञ्चालनमा राजनीतिक समन्वय तथा सहजीकरण गर्न तीन दलको प्रतिनिधित्व रहने सात सदस्यीय संयन्त्र गठन गरिने भएको छ ।
संयन्त्रमा नेकपाबाट रत्नप्रसाद ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल, एमालेबाट दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल तथा राप्रपाबाट राजेन्द्र प्रजापति र नुरज बज्राचार्य रहनेछन् । संयन्त्रले सरकार सञ्चालनका विषयमा आवश्यक सुझाव, सल्लाह र दलहरूबीच समन्वय गर्ने जिम्मेवारी पाउनेछ ।
तीन दलले आगामी सात दिनभित्र प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरी सार्वजनिक गर्ने भएका छन् । सोही कार्यक्रमलाई आधार बनाएर सरकारका आगामी काम अघि बढाइने समझदारी भएको छ ।
मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने विषयमा पनि दलहरूबीच सहमति भएको छ । मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपाबाट एकजना र त्यसपछि राप्रपाबाट एकजना रहने व्यवस्था गरिएको छ ।
मुख्यमन्त्री थापामगरले विश्वासको मत लिनुअघि भएको यो समझदारीले वाग्मती प्रदेशको नयाँ राजनीतिक समीकरणलाई औपचारिकता दिएको छ । मन्त्रालयको संख्या यथावत् राख्ने निर्णयसँगै सरकारको संरचना र सञ्चालन शैलीमा समेत नयाँ अभ्यासको संकेत देखिएको छ ।
अब सात सदस्यीय संयन्त्रले तयार गर्ने न्यूनतम साझा कार्यक्रमले एमाले, नेकपा र राप्रपाको गठबन्धन सरकारका प्राथमिकता तथा आगामी कार्यदिशा तय गर्नेछ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्