बाढीले घरविहीन बनेकालाई विदुरले दिने भयो मासिक १० हजार घरभाडा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २२, सोमबार ०५:३२


नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको व्यवस्थापन र पुनःस्थापनाका लागि विदुर नगरपालिकाले पाँचबुँदे निर्णय गरेको छ।


नगर कार्यपालिकाको बैठकले बाढीका कारण बस्न योग्य घर नभएका विदुर नगरवासीलाई तत्कालका लागि परिवारको घरभाडा स्वरूप मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। साथै प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायत सामग्री उपलब्ध गराउने निर्णय गरिएको छ।


नगरपालिकाले कोठा भाडामा लिँदा वा दिँदा प्रचलित/चलनचल्तीको भन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ।


त्यस्तै, तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था र दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माण गरी बाढीपीडितको पुनःस्थापना गर्ने निर्णय पनि गरिएको छ।


नगरपालिकाले अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) बाहेकका विद्यालयमा भदौ २४ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। हाल होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याइने जनाइएको छ।


विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाबाट आएका भोटेकोशी बाढी प्रभावित नागरिकलाई सम्बन्धित जिल्ला तथा पालिकासँग समन्वय गरी अन्यत्र व्यवस्थापन गर्नसमेत नगरपालिकाले आग्रह गरेको छ।


भोटेकोशी–त्रिशूली बाढीपछि विस्थापित परिवारको तत्कालीन आवास र विद्यालय सञ्चालन दुवै चुनौती बनेका बेला विदुर नगरपालिकाको यो निर्णय पुनःस्थापनातर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *