नुवाकोट । नेपाली कांग्रेसको संस्थापन पक्षले नुवाकोटमा तय गरेको वडा अधिवेशन केही दिन पर सार्ने तयारी गरेको छ। यसअघि असोज ३ र ४ गतेका लागि तय गरिएको वडा अधिवेशन भोटेकोशी–त्रिशूली बाढीबाट उत्पन्न विपद्को अवस्थाका कारण केही दिन पर सार्ने तयारी गरिएको हो।
विपद्का कारण अधिवेशन नै स्थगित गर्ने तयारी भए पनि नेता तथा कार्यकर्ताले धेरै समय अधिवेशन रोक्न नहुने भन्दै दबाब दिएपछि बढीमा चार दिनसम्म मात्र मिति सार्ने तयारी भइरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ।
संस्थापन पक्षले अधिवेशनको नयाँ मिति तय गर्ने तयारी गरिरहँदा नुवाकोटमा अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको विवरणसमेत पूर्ण रूपमा प्राप्त भइसकेको छैन।
विशेषगरी क्षेत्र नं. १ मा पुस मसान्तसम्म नवीकरण गरिएका तथा नयाँ क्रियाशील सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिले प्राप्त नगरेको स्रोतले जनाएको छ। क्रियाशील सदस्यताबापतको रकमसमेत केन्द्रमा बुझाउन बाँकी रहेको बताइएको छ।
क्षेत्र नं. २ मा भने क्रियाशील सदस्यताको विषयमा समस्या नरहेको बताइएको छ। उक्त क्षेत्रमा करिब ४ हजार ३ सय क्रियाशील सदस्य रहेको जनाइएको छ। यद्यपि, तीमध्ये अधिवेशनमा कति सदस्य सहभागी हुन्छन् भन्ने विषयमा भने अहिलेसम्म यकिन भइसकेको छैन।
यसैबीच, संस्थापन पक्षभित्र वडा तथा माथिल्ला तहको नेतृत्व चयनलाई लिएर सहमतिको प्रयाससमेत भइरहेको कांग्रेसका नेता–कार्यकर्ताले बताएका छन्। गाउँ तथा क्षेत्रीय तहमा निर्वाचन नगरी सहमतिका आधारमा नेतृत्व चयन गर्ने र महाधिवेशन प्रतिनिधिसमेत सहमतिमै टुंग्याउने तयारी भएको उनीहरूको भनाइ छ। तर, सहमतिका नाममा नेतृत्व छनोट गर्ने विषयमा संस्थापन पक्षभित्रै असन्तुष्टि रहेको बताइएको छ।
नुवाकोट कांग्रेसको सांगठनिक समीकरणमा डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी र बहादुरसिंह लामाको राजनीतिक धारसमेत चर्चामा छ। डा. महत संस्थापनइतर पक्षमा रहेकाले संस्थापनबाट केसी र लामाबीच सांगठनिक भागबन्डा हुने गरी सहमतिको प्रयास भइरहेको केही नेता–कार्यकर्ताको दाबी छ। तर केसी ,लामा भन्दा पनि चारतारा र रुख मात्र देख्ने भन्दै संस्थापनपक्षमा लागेका अधिकांश नेता ,कार्यकर्ताहरुले भने नेताकाे खल्तीकाे लिष्टले वरीपरि घुम्ने मात्रै अटाउने र इमान्दार नेता कार्यकर्ता पछि पारिने आशंका गर्न थालेका छन् ।उनीहरुले महाधिवेशन निश्पक्ष गर्नुपर्ने भन्दै सम्बन्धित तहमा नै खुला रुपमा गर्न नेताहरूलाई दवाव दिएका छन् ।
इतर पक्ष असोज १५ गते अधिवेशन गर्ने तयारीमा
यता नेपाली कांग्रेसको संस्थापनइतर पक्षले भने असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ। इतर पक्षले खुला र पारर्दशी प्रक्रियाबाटै नेतृत्व चयन हुने भन्दै उक्त मितिमा अधिवेशन गर्ने तयारी अघि बढाएको हो।
असोज १५ गतेकाे अधिवेशनका पक्षमा नुवाकोट कांग्रेसमा लामो समयदेखि सक्रिय रहेका पुराना नेता तथा कार्यकर्ताहरू समेत रहेका छन्। पञ्चायतविरुद्धको आन्दोलनदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका धु्रव अधिकारी, धु्र्व श्रेष्ठ, अर्जुन न्याैपाने,बैकुण्ठ बहादुर पाण्डे, कल्पपना नेपाली,सन्तबहादुर घले, श्रीराम श्रेष्ठ, बद्गी मुडबरी, जयराम दाहाल,गणेश लामा ,श्या म पाण्डे ,हरिकृष्ण श्रेष्ठ ,बासु सापकाेटा, सरिता आचार्य ,उत्तम पाठक विन्दा अर्याल बसन्तजंग ठकुरी , बसन्त केसी सुनमाया तामाङ ,शुकदेव दाहाल,
नित्य ढुंगाना पुर्ण गजुरेल ,रामजी पाैडेल,शंकर प्याकुरेल, प्रकाश अधिकारी राम श्रेष्ठ ,अर्जुन पाठक,रामजी थापा,धुव ढकाल,बाबुराम तामाङ ,टेकनाथ दाहाल अच्युत रिजालसहित सयाैँ नेताहरू असोज १५ गते वडा अधिवेशनमा भाग लिने पक्षमा रहेको बताइएको छ। जसले गर्दा नुवाकोटमा असाेज ३/४ काे अधिवेशन र १५ असाेजकाे अधिवेशनले कांग्रेस दुई चिरा हुने स्पष्ट देखिएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्