बेलकोटगढी । नेपाली कांग्रेस बेलकोटगढी नगर कार्यसमितिको नयाँ नेतृत्व चयनको तयारीसँगै नगर सभापतिका लागि वर्तमान वडा नं. १० का अध्यक्ष प्रलाद प्रसाद थपलियाको नाम चर्चामा आएको छ। नगर सभापतिमा थपलियाले उम्मेदवारीको तयारी गरिरहेको र उनलाई विभिन्न तहका नेता तथा जनप्रतिनिधिको समर्थन रहेको बताइएको छ।
थपलियालाई कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामासहित बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल तथा विभिन्न वडाका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र नगर प्रतिनिधिहरूको समर्थन रहेको उनीनिकट नेताहरूको दाबी छ। बेलकोटगढी नगरपालिकामा दाहाल कांग्रेसबाट निर्वाचित उपप्रमुख हुन् भने थपलिया वडा नं. १० का निर्वाचित वडा अध्यक्ष हुन्।
थपलियाको पक्षमा रहेको समूहले एकता, संगठन सुदृढीकरण र पुस्तान्तरणलाई मुख्य एजेन्डा बनाएको छ। उक्त समूहको प्रतिवद्वताम सबैलाई समेटेर एकताबद्ध कांग्रेस निर्माण गर्ने, गुटभन्दा संगठनलाई प्राथमिकता दिने, युवालाई अवसर दिने तथा जनप्रतिनिधि र पार्टी संगठनबीच समन्वय बलियो बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
नगर सभापतिका लागि हालका सभापति लेखनाथ मुडबरीले पनि पुनः नेतृत्वका लागि दाबी गरिरहेका छन्। मुडबरीलाई कांग्रेस नेता जगदीश्वरनरसिंह केसीको समर्थन रहेको बताइएको छ। दुवै पक्षबीच नेतृत्वका विषयमा छलफल भइरहे पनि अन्तिम टुंगो भने लागिसकेको छैन।
थपलिया पक्षले वर्तमान नेतृत्वको कार्यकालमा पार्टी संगठन सञ्चालन, जनप्रतिनिधि र पार्टीबीचको समन्वय तथा जनप्रतिनिधिका काममा पार्टीको भूमिकालगायत विषयमा असन्तुष्टि रहेको बताउँदै आएको छ। यी विषयहरू भने सम्बन्धित पक्षको राजनीतिक दाबीका रूपमा प्रस्तुत भएका छन्।
अर्को तर्फ थपलियाले वडामा रहेर गरिरहेकाे नेतृत्व विवादरहित रहेको कांग्रेसका धेरैको बुझाइ रहेको छ ।उनी शालिन र सबैसँग मिल्न सक्ने पनि छन् ,जसले गर्दा यसपटककाे राेजाइमा थपलिया पर्ने देखिन्छ ,एक कांग्रेस क्षेत्रिय प्रतिनिधिले नुवाकोट पुकारलाइ बताए ।
बेलकोटगढी कांग्रेसमा नगर सभापतिको विषयलाई लिएर समूहगत छलफलसँगै सर्वसम्मत नेतृत्व चयनको प्रयाससमेत जारी रहेको बताइएको छ। सहमति हुन नसके भाेलि असाेज १३ मा निर्वाचनमार्फत नेतृत्व चयन हुने सम्भावना छ।
थपलियाकाे टिमबाट उपसभापतिमा अर्जुन तिमिल्सिना ,सचिवमा श्याम कुमार पुडासैनी र सहसचिवमा बासुदेव गजुरेलले उम्मेदवारी घाेषणा गरिसकेका छन् । चारै जना बेलकाेटगढी कांग्रेसका अब्बल मानिन्छन् ।
बेलकोटगढीमा कांग्रेसको संगठनात्मक आधारबारे २०७९ को स्थानीय तह निर्वाचनको परिणामले पनि महत्वपूर्ण चित्र देखाउँछ। निर्वाचनमा कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल नगर उपप्रमुखमा निर्वाचित भएका थिए भने नगरका १३ वडामध्ये कांग्रेसले ७ वडा अध्यक्ष जितेको थियाे ।
,‘व्यक्ति होइन, संगठन; विभाजन होइन, एकता’ भन्ने सन्देशसहित अघि बढेको थपलिया समूहले नगर कांग्रेसलाई थप व्यवस्थित र सक्रिय बनाउने प्रतिबद्धता सार्वजनिक गरेको छ। अबको मुख्य चासो भने सहमतिको प्रयासले सार्थकता पाउँछ कि निर्वाचनमार्फत नगर नेतृत्व चयन हुन्छ भन्नेमा केन्द्रित भएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्