गगन थापा पक्षले सहमतिका लागि दवाव दिएपछि ककनी–४ का निवर्तमान वडा सभापति नबिन तामाङ थिङले छाडे कांग्रेसकाे सक्रिय राजनीति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १२, सोमबार ०९:३८


नुवाकोट । ककनी गाउँपालिका–४ का निवर्तमान वडा सभापति नबिन तामाङ थिङले गाउँपालिका सभापतिमा आफ्नो दाबी प्रस्तुत गरे पनि कांग्रेस संस्थापन पक्षले पार्टीभित्र सहमतिका नाममा आफूलाई अनावश्यक दबाब दिइएपछि सक्रिय राजनीतिबाट अलग हुने निर्णय गरेका छन् ।


तामाङ थिङले सामाजिक सञ्जालमार्फत लामो समयदेखि लोकतन्त्र, समाज र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक यात्रामा सक्रिय रहँदै आएको उल्लेख गर्दै आफूलाई साथ, सहयोग, माया, विश्वास र प्रेरणा दिने अग्रज, सहकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।


उनले बदलिँदो राजनीतिक परिवेश, व्यक्तिगत मूल्य–मान्यता र विगतका अनुभवलाई गम्भीरतापूर्वक समीक्षा गर्दै अब सक्रिय राजनीतिबाट अलग हुने निर्णय गरेको बताएका छन्। आफ्नो निर्णय कुनै व्यक्ति वा समूहप्रतिको असन्तुष्टिका कारण नभई व्यक्तिगत सोच र आत्ममूल्यांकनबाट आएको उनको भनाइ छ।


तामाङ थिङले युवाहरूले पार्टीको नेतृत्व गर्नुपर्ने र त्यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको सन्देश पनि यसअघि दिँदै आएका थिए। गाउँपालिका सभापतिका लागि आफ्नो दाबी रहँदा सहमतिका नाममा आएको दबाबपछि उनले यस्तो निर्णय लिएको कांग्रेसभित्र चर्चा छ।


यसै क्रममा उनले गगन थापा नेतृत्वको समूहसँगको राजनीतिक सहकार्यसमेत छाडेको उल्लेख गरेका छन्। राजनीतिबाट अलग भए पनि समाज, समुदाय र राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी भने निरन्तर कायम रहने तामाङ थिङले बताएका छन्। आगामी दिनमा आफ्नो क्षमता र अनुभवलाई सामाजिक काममा प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले आफ्नो राजनीतिक यात्राका क्रममा जान–अन्जानमा कसैलाई दुःख पुगेको भए क्षमा मागेका छन्।


उनले आफ्नो निर्णयलाई सम्मानपूर्वक स्वीकार गरिदिन सबैसँग आग्रह गर्दै ‘राजनीतिक यात्राको अन्त्य गर्दै सामाजिक यात्रालाई निरन्तरता दिने’ बताएका छन्। उनी ककनी–४ नेपाली कांग्रेसबाट वडा सदस्यका उम्मेदवारका बनेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *