काठमाडौं । नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष रामकृष्ण भट्टले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घाेषणा गरेका छन् ।
भट्टले नुवाकोट क्षेत्र नं. २ बाट ३५ वर्षमुनिको उमेर समूहअन्तर्गत युवा पुरुषतर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिन लागेका हुन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस संगठनलाई थप सुदृढ, गतिशील, समावेशी र समयानुकूल बनाउन आफ्नो क्षमता, अनुभव र ऊर्जालाई पार्टीको हितमा समर्पित गर्ने उनले बताएका छन्।
नयाँ पुस्ताको आवाज, भावना र अपेक्षालाई पार्टीको नीति, निर्णय तथा नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्याउने र पुस्तान्तरणसँगै संगठनलाई थप ऊर्जाशील बनाउने उद्देश्यले उम्मेदवारी दिन लागेको भट्टको भनाइ छ।
उनले नुवाकोट क्षेत्र नं. २ का वडा सभापति, क्षेत्रीय प्रतिनिधि, पार्टीका शुभेच्छुक, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल तथा नेपाल महिला संघका नेता–कार्यकर्तासँग सुझाव, सल्लाह, शुभेच्छा र सहयोगका लागि अपिल गरेका छन्।
भट्टले आफूलाई प्राप्त हुने विश्वास र साथलाई जिम्मेवारीका रूपमा ग्रहण गर्दै इमानदारी, निष्ठा र जिम्मेवारीका साथ पार्टी तथा संगठनको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘तपाईंहरूको एक मत मेरो जिम्मेवारी, युवा पुस्ताको आवाज र नेपाली कांग्रेसको सुदृढ भविष्यप्रतिको प्रतिबद्धता हुनेछ,’ भट्टले अपिलमार्फत भनेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्