बेत्रावतीको फलाखु खोलामा २४० फिट लामो बेलीब्रिज सञ्चालनमा, रसुवा आवतजावत सहज

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २५, आईतवार ११:३१

नुवाकोट । नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाखु खोलामा नेपाली सेनाले निर्माण गरेको २४० फिट लामो एक्रो बेलीब्रिज सञ्चालनमा आएको छ । ६० टन भारवहन क्षमता रहेको पुल निर्माण सम्पन्न भएसँगै रसुवा जिल्लासँगको आवतजावत सहज हुने भएको छ ।

भदौ १० गते आएको बाढीपछि प्रभावित बनेको नुवाकोट–रसुवा आवागमनलाई सहज बनाउन नेपाली सेनाको टोलीले फलाखु खोलामा पुल निर्माण गरेको हो । पुल सञ्चालनमा आएसँगै यस मार्ग हुँदै रसुवा जाने तथा नुवाकोट आवतजावत गर्ने सर्वसाधारण र सवारीसाधनलाई राहत मिल्ने अपेक्षा गरिएको छ । नेपाली सेनाकाे ६० जनाकाे टाेलीले लगातार १० दिनभन्दा धेरै काम गरेर शनिबारदेखि सञ्चालनमा ल्याएको छ ।

यद्यपि, बाढीले क्षति पुर्‍याएका अन्य संरचनाको पुनर्निर्माण तथा मर्मतमा अपेक्षित गति लिन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् । विशेषगरी त्रिशूली नदी वारिपारि गर्न अझै पनि असहज अवस्था रहेको छ ।

त्रिशूली कोलोनी जोड्ने पुल निर्माणको काम भने जारी रहेको र अबको एक–दुई दिनभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ । उक्त पुल तयार भएपछि त्रिशूली नदी वारिपारि गर्ने स्थानीयवासी तथा यात्रुलाई थप सहज हुने विश्वास गरिएको छ ।

बाढीपछि अवरुद्ध तथा प्रभावित बनेका सडक र पुलको पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने स्थानीयको माग छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *