नुवाकोट । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरका संयोजक श्रीराम श्रेष्ठले पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र संगठनात्मक सुधार आवश्यक रहेको औँल्याउँदै भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको कार्यालयमार्फत असोज २९ गते सार्वजनिक गरिएको धारणामा श्रेष्ठले समसामयिक राजनीतिक परिस्थिति, पार्टीभित्रको संगठनात्मक सुधार, बाढीपीडितको पुनःस्थापना तथा बडादसैँको शुभकामना व्यक्त गरेका छन्।
पार्टीभित्र गुटगत स्वार्थ, व्यक्तिकेन्द्रित निर्णय, अवसरको असमान वितरण र कार्यकर्ताको योगदानको अवमूल्यनजस्ता प्रवृत्ति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले आलोचना सुन्ने संस्कार, आन्तरिक लोकतन्त्र र विधानसम्मत निर्णय प्रक्रियालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसको गौरवशाली इतिहासलाई वर्तमानका कमजोरी ढाकछोप गर्ने माध्यम बनाउन नहुने धारणा व्यक्त गर्दै श्रेष्ठले पार्टीलाई जनताको भरोसासँग जोड्न नेतृत्वको जिम्मेवारी, आचरण, कार्यसम्पादन र जनताप्रतिको उत्तरदायित्वका आधारमा मूल्यांकन हुनुपर्ने बताएका छन्। युवालगायत सबै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि उनले आग्रह गरेका छन्।
यसैगरी, भदौ १० गते आएको विनाशकारी बाढीबाट नुवाकोटसहित विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै श्रेष्ठले प्रभावित परिवारलाई न्यायोचित राहत, क्षतिपूर्ति र स्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् तथा सञ्चार संरचनाको पुनर्निर्माण समयमै सम्पन्न गर्न, प्रभावित बालबालिकाको शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न तथा जीविकोपार्जन गुमाएका नागरिकका लागि विशेष पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ।
राहत तथा पुनर्निर्माणमा खर्च भएको रकमको पारदर्शी विवरण सार्वजनिक गर्न, वास्तविक पीडितसम्म सहायता पुगेको सुनिश्चित गर्न र जोखिमयुक्त बस्तीको वैज्ञानिक अध्ययन गरी आवश्यकताअनुसार सुरक्षित स्थानान्तरणको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
बाढीपीडितको पुनःस्थापना कुनै दलको प्रचारको विषय नभई राज्यको दायित्व र नागरिकको अधिकार भएको उल्लेख गर्दै श्रेष्ठले प्रभावित नागरिकको समस्या समाधान नभएसम्म निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
श्रेष्ठले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै विपद्बाट प्रभावित परिवारको जीवनमा आशा र भरोसा कायम होस् तथा समाजमा सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता सुदृढ बनोस् भन्ने कामना गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्