काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियुक्त गरिएको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी अस्वीकार गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारका रूपमा सरुवा गर्ने निर्णय गरेको थियो। तर, कार्कीले उक्त पद स्वीकार नगर्नुका साथै नियुक्तिसम्बन्धी पत्रसमेत बुझ्न अस्वीकार गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत एक सचिवलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएअनुसार कार्कीले पद र त्यससँग जोडिएका सेवा–सुविधा स्वीकार नगर्ने अडान लिएका हुन्।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल सरकारको सचिवसरह सेवा–सुविधा उपलब्ध गराउने गरी विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यस्तै, रिक्त आईजीपी पदमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीलाई नियुक्त गरिएको थियो। डा. केसीले दर्ज्यानी चिह्न लगाएर पदभारसमेत सम्हालिसकेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्