
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो ।

उहाले गणतन्त्र स्थापनामा गिरिजाबाबुको ठुलो योगदान रहेको पनि बताउनुभयो । सभापति देउवाले गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र पुनःस्थापनाका साथै गणतन्त्र प्राप्त उल्लेख गर्नुभयो । “गिरिजाबाबु २००७ को क्रान्तिदेखि देशको राजनीतिमा क्रियाशील, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो । विद्यार्थी कालमा गिरिजाबाबुकै कारण आफू नेपाल विद्यार्थी सङ्घको सभापति भएको उहाँले बताउनुभयो ।

गणतन्त्रलाई स्थायी रूपमा अगाडि बढाउने प्रमुख जिम्मेवारी कांग्रेसको भएको उहाँले बताउनुभयो । प्रजातन्त्रबाट लडेर देशमा गणतन्त्र ल्याउन सफल भएको व्यक्तिका रुपमा गिरिजाबाबु भएको सभापति देउवाले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका नेताले अभिरुचिपूर्वक प्रदर्शनी अवलोकन गर्नुभएको थियो । कांग्रेस एक महिनासम्म फोटो प्रदर्शनी गर्ने भएको छ ।