
काठमाडौँ । नेपाली कांग्रेससँग सत्ता सहकार्यसहित सअन्य विषयमा सहमति गरेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भोलि बुधबारसम्म राजीनमा गर्न आग्रह गरेको छ । आज मंगलबार अपरान्ह बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको नेकपा एमालेले जनाएको छ ।

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पत्रकारहरुलाई दिनुभएको जानकारी अनुसार संसदका दुई ठूला दल सहमतिमा आएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्दै एमालेले प्रधानमन्त्रीलाई सो अवसर दिने र मार्गप्रशस्त नगरेमात्र थप निर्णय लिने निर्णय एमाले बैठकले गरेको छ । बैठकले नेपाली कांग्रेससँग भएको सहमति स्वीकार गर्ने निर्णय गर्दै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन अन्य दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।
योसँगै एमालेका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीले राजीनामा नगरेमा मात्र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार छोड्ने बताइएको छ ।
एमाले सचिवालय बैठकका निर्णय–
१। एमाले र नेपाली कांग्रेसको सहमति अनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरुलाई आह्वान गर्ने ।
२। नेकपा एमाले र नेपाली कांग्रेसका विचमा भएको सहमति अनुरुप अब संबिधानको धारा ७६ ९२० को सरकार निर्माणका लागि भोलिसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने ।