

ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ।
बैंकले मिति २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको ज्योति विकास बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा बढीको अनुभव बोकेका नव नियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिना देखि सोही बैंकका नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रही आउनु भएको थियो।

चार्टर्ड एकाउन्टेन्ट बरालसंग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव रहेको र उहाँ एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा पूर्व सञ्चालक रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि रहनु भएको बैंकले जनाएको छ ।
यसका साथै, बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव नियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरुवात गरि विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गर्नुभएको जनाइएको छ । विगत ७ वर्षदेखि यस विकास बैंकमा आवद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारिकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हाल्दै आउनु भएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बैंक कार्य सम्पादन गर्नेहरूको लागि उर्वरा भूमि बनाउने ध्येय अनुरूप कार्य गर्दै आएको छ। साथै बैंकले सोका लागि आवश्यक पर्ने समुचित वातावरण र संस्थागत संस्कृति स्थापना गरेको छ। यसैको फलस्वरूप, उहाँहरूको अद्वितीय योगदानको कदरस्वरूप उहाँहरूलाई पदोन्नति गर्ने बैंकले निर्णय गरेको हो। उच्च कार्यसम्पादनको समयमै समुचित प्रतिफल दिने तथा यसलाई साधकको रूपमा ग्रहण गरी बैंकलाई ूपर्फ़मर्स प्याराडाइजू बनाउने दीर्घकालीन साध्य हासिल गर्नमा यो पदोन्नति कोशेढुङ्गा साबित हुने विश्वास बैंकले लिएको छ।आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको कार्य गर्दै आएको बैंकले जनाएको छ ।