
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टीबाट निश्कासितगरेपछि पार्टीका नेताहरुमाथि गम्भीर आरोप लगाएका छन् ।
ढकालले लगाएको आरोप एउटा राज्य विरुद्धको गम्भीर षड्यन्त्रका रुपमा रहेको छ । तर यो सत्य थियो कि थिएन भन्ने कुराको भने कुनै आधार छैन, केबल उनको बोली मात्रै हो । तर ढकालले आफू त्यसलाई पुष्टि गर्नका लागि जस्तोसुकै परीक्षा दिन पनि तयार भएको बताउँदै आएका छन् ।

मुख्यत ढकालले रवि लामिछाने र स्वर्णिम वाग्लेका विषयमा ‘शंकास्पद’ धारणा राखेका हुन । यसले रास्वपामा निकै ठुलो हलचल पैदा भएको छ । शनिबार राति एक टेलिभिजनसँगको अन्तर्वार्तामा मुकुलले ‘नेपाललाई भारतकै एउटा राज्य बनाउने प्रस्ताव राख्ने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने समझदारी गर्न आफूलाई खटाइएको’ दाबी गरेका छन् ।
त्यस्तै उपसभापति वाग्लेले प्रधानमन्त्री बनाएमा भुटान वा सो सरहको अवस्थामा नेपाललाई पुर्याउन सहजीकरणको भूमिका खेल्ने बताएको भन्दै वाग्लेको भनाइलाई सार्वजनिक गरेका छन् । ढकालले रवि लामोछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल र आफूसमेत काठमाडौँको एक होटलमा भारतीय राजदूतसँग भेट गरेको र सोही भेट सकेर फर्कने क्रममा लिफ्टमा स्वर्णिमले त्यस्तो प्रस्ताव गरेको जिकिर गरेका छन् ।
सो कुरा सार्वजनिक गरेपछि उनले आफूलाई उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमण गर्ने धम्की आएको भन्दै सुरक्षाको माग पनि गरेका छन् । यस्तो गम्भीर आरोपका विषयमा रास्वपाले आज नै सभापति लामिछाने, उपसभापति वाग्ले र खनालले सार्वजनिक रुपमा धारणा राख्ने तयारी गरिएको बुझिएको छ । यस विषयमा डा. वाग्लेसँग पनि सम्पर्क गर्न खोज्दा उनको मोबाइल भने अफ भएकाले प्रतिक्रिया लिन सकिएन ।