
हेटौडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको बैठकले त्यसका नेता बहादुरसिंह लामालाई मुख्यमन्त्रीको प्रस्ताव गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकमा सर्वसम्वत रुपमा लामालाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको हो । लामालाई मुख्यमन्त्रीको प्रस्ताव प्रदेशसभा सदस्य इन्द्र बानियाँले गर्नुभएको थियो । बानियाँ नेपाली कांग्रेस बामगती प्रदेशको सभापति हुनुहुन्छ ।

उहाँको प्रस्तावमा बैठकले सर्वसम्वत रुपमा निर्णय गरेको हो । नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति अनुसार बागमती प्रदेसको मुख्यमन्त्री कांग्रेसको भागमा परेको छ । सोही अनुसार संसदीय दलका नेता लामा मुख्यमन्त्री बन्न लाग्नु भएको हो ।
प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री शालिकराम जम्कटेलले विश्वासको मत लिँने कार्यक्रम रहेको छ । उहाँलाई यसअघि सत्ता सहयात्री दल एमालेले विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ । सो अनुसार उहाँले आजै राजीनामा दिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री जम्कटेलले आफ्नो डेडवर्षे उपलब्धी समेत सार्वजनिक गरिसक्नु भएको छ ।
१ सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् । यी दुई दल मिल्दा बहुमतका लागि आवश्यक ५६ मत सहजै पुग्ने देखिन्छ। कांग्रेस, एमाले र राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने यसअघिनै स्पष्ट पारिसकेका छन्।