
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उहाँले निराशा चिरेर जनतामा आशा जगाउने सरकार लागिपरेको बताउनुभयो । “जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । विकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रुपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षा अनुसार कानुनमा सुधार गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो झण्डै एक घण्टा लामो मन्तव्यमा संविधान संशोधन गरेर भएपनि लोकतन्त्रलाई अझ बलियो बनाउने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले आठ दशक देश र जनातका लागि लडेर आएका पार्टीहरुले कहिलेई पनि गलत निर्णय नलिने भन्दै देश र जनताको हित हुने विषयहरुलाई मात्रै संशोधन गरेर अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
उहाँले कांग्रेस एमालेलाई लोकतन्त्रको पाठ सिकाउन नपर्ने भन्दै जेल नेल खाएका नेताहरुबट धोका नहुने दावी पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएसँगै जनतामा उत्साह छाएको भन्दै त्यसको पहिलो उदाहरण शेयर बजारमा हरियाली छाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, अहिले शेयर बजार हरियाली भएको छ अब अहामी सबै क्षेत्रलाई हरियाली बनाँछौँ ।
प्रधानमन्त्री ओलीले देशभर बाढी–पहिरोलगायत विपद्को चपेटामा परेकालाई उद्धार तथा राहत उपलब्ध गराउने उल्लेख गर्दै विपद्का घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।