
हेटौडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेशसभामा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि जम्कटेलले आइतबार राजीनामा दिनुभएको थियो ।

जम्कटेलले राजीनामा दिएपछि प्रमुख यादवले दुई दिनको समय दिएर सरकार गठनका लागि बहुमतकासाथ दावी गर्न दलहरुलाई आह्रवान गर्नुभएको थियो । सो अनुसार मंगलबार साँझ बहुमत सदस्यहरुको समर्थनसहित लामाले मुख्यमन्त्रीको दावी पेश गर्नुभएको थियो ।
नेकपा एमालेको समर्थनमा बहुमत सदस्यसहित लामाको दावीपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई नेकपा एमालेसहितका दलहरुको मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । ८ कात्तिक २०२७ मा नुवाकोटको किस्पाङ गाउँपालिका ५ मनकामनामा जन्मनु भएका लामा यस समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । बागमतीमा नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गर्ने पनि लामा नै हुनु भएको छ।
लामाले गाउँकै विद्यालयबाट निमावि, सदरमुकाम बिदुरबाट एसएलसी तथा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक सम्मको शिक्षा हासिल गर्नुभएको छ।
२०४३ सालदेखि कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको सदस्य लिनु भएका लामाले नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा नुवाकोटमा नेविसंघको क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै काङ्ग्रेस राजनीतिमा अगाडि बढ्नु भएको थियो । लामा २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँ कांग्रेसको १३ औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित हुनुभयो भने त्यसपछि १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित बन्नुभयो । त्यस्तै उहाँ संघीय निर्वाचनमा दुई पटक प्रतिस्पर्धा गर्नु भएको थियो । पहिलो पटक पोष्टबहादुर बोगटीसँग पराजित भएपनि दोस्रो पछक भने निर्वाचित हुन सफल हुनुभयो ।
गत निर्वाचनमा भने प्रदेशसभामा निर्वाचन लड्नु भएका लामाले सहजै जित हासिल गर्नुभयो र प्रदेश संसदीय दलको नेता बन्न सफल हुनुभयो । त्यसपछि नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धनमा निर्माण भएको सरकारमा अर्थमन्त्रीमन्त्रीको जिम्मेवारी पाउनु भएको थियो । सभपाति शेरबहादुर देउवा निकट रहेका लामालाई देउवा पक्षको समर्थनमा नै संसदीय दलको नेता बनाइएको थियो । यसअघि देउवा निकट रहेका इन्द्र बानियाँ गगन पक्षबाट निर्वाचन लडेका थिए । जसले गर्दा उहाँलाई अहिले मुख्यमन्त्री बन्न असहज भएको छ । बानियाँ अघिल्लो कार्यकालमा बागमती प्रदशेसभा संसदीय दलको नेता हुनुहुनथ्यो ।
नेपाली कांग्रेस र एमाले गठबन्धनले बागमतीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति अनुसार लामालाई मुख्यमन्त्री बन्न सहज भएको हो ।
पञ्चायतका बेलादेखिनै नुवाकोटमा डा. प्रकाशचन्द्र लोहनी, जितसिंह खड्का जस्ता हस्तिहरु थिए, जसले देशको राजनीतिमा आफ्नो हैसियत राम्रैसँग स्थापित गरेका थिए । त्यसपछि जब बहुदल आयो अनि मुख्य रुपमा कांग्रेसका नेताहरुको सक्रिय भए । नुवाकोट कांग्रेसको राजनीतिभित्र अर्जुननरसिंह केसी र डा. रामशरण महत र हाल डा. प्रकाशशरण महतको बाहुल्यता हुँदै आएको लामो समय भयो । झण्डै बहुदलपछि केसी र महतकै बोलवाला हुँदै आएको छ । बहादुरसिंह लामा उनीहरुले नै जन्माएका एक विद्यार्थी नेता थिए । तर उनको क्रियाशिलता जनजातिको बाहुल्यता भएको नुवाकोट र आफ्नै भाग्यका कारण आज लामा नुवाकोटको राजनीतिमा मात्रै होइन सिंगो देशको राजनीतिमा गनिएका छन् । अझ भनौं अब नुवाकोट कांग्रेसमा केसी र महतसँगै लामाको पनि नयाँ हैसियत स्थापित हुन पुगेको छ । भलै उनले महत र केसीले जसरी जोगाउन सक्लान या नसक्लान त्यो भविष्यको गर्भमा नै छ । तर पनि सिंगो नुवाकोट जिल्लाले एउटा नयाँ इतिहास थप्न भने सफल भएको छ ।
यसअघि नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको बैठकले त्यसका नेता बहादुरसिंह लामालाई मुख्यमन्त्रीको प्रस्ताव गरेको थियो । मुख्यमन्त्रीका लागि लामासहित प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँको पनि चर्चा भएपनि कांग्रेस संसदीय दलले सहमतिमा लामालाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको थियो ।
आइतबार बिहान बसेको संसदीय दलको बैठकमा सर्वसम्वत रुपमा लामालाई मुख्यमन्त्रीको प्रस्ताव गरेको थियो । लामालाई मुख्यमन्त्रीको प्रस्ताव प्रदेशसभा सदस्य इन्द्र बानियाँले गर्नुभएको थियो । बानियाँ नेपाली कांग्रेस बामगती प्रदेशको सभापति हुनुहुन्छ । उहाँको प्रस्तावमा बैठकले सर्वसम्वत रुपमा निर्णय गरेको हो । स्रोतका अनुसार लामा र बानियाँबीच आधा आधा कार्यकाल मुख्यमन्त्रीका लागि भद्र सहमतिमा भएको छ । सो सहमति अनुसार संसदीय दलको नेता फेर्ने अभियान स्थगित भएको छ । १ सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् । दुई दल मिल्दा बहुमतका लागि आवश्यक ५६ मत सहजै पुगेको छ । माओवादी, समाजवादी भने विपक्षमा बस्ने भएका छन् ।
यसैबीच दुई दलबीच भएको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाएका छन् । सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो । तर सहमतिसँगै लामा मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । १३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिएका छन् । स्रोतका अनुसार एमालेले यसअघि माओवादी नेतृत्वमा लिएका पाँच मन्त्रालय लिने सहमति यस अघि नै भएको थियो ।
मुख्य रुपमा समाजवादीले लिएको दुई मन्त्रालयमा एमालेले पशुपंक्षी मन्त्रालय र कांग्रेसले खेलकुद मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको लिएको छ । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।