
काठमाडौँ: ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

समितिले बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई २०८१ भदौ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गर्नुभएको छ ।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।