
विदुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भएको छ ।

मुख्य मन्त्रीमा नियुक्त भएसँगै आफ्नो गृह जिल्लामा पहिलो पटक आउनु भएका सिंहले त्रिशुली अस्पतालको ६०औं वाषिकोत्सव तथा सिटिस्क्यान सेवाको सुभारम्भ गर्दै सो कुरा बताउनु भएको हो । उहाँले आफू विदेशमा जाँदा धेरै देशहरुमा स्वास्थ्यलाई अति महत्वपूर्ण रुपमा राखेर निःशुल्क समेत गरिएको आफुले देखेको स्मरण गराउँदै आफ्नो चाहाना पनि त्यहि रहेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्यको विकास भएसँगै शिक्षालाई स्वत गुणस्तरीय बनाउन सकिने पनि उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री लामाले भन्नुभयो, हामीले कमाएको पैसा धेरै शिक्षा र स्वास्थ्यमा खर्च भैरहेको छ, यदि यो निःशुल्क भयो भने आफ्नो जीवन नै सहज रुपमा अघि बढ्न र समाजलाई पनि सभ्य बनाउन सकिन्छ । उहाँले विदेशमा निःशुल्क स्वास्थ्य र शिक्षा कायान्वयको लागि सुशासन र नियमन निकै प्रभावकारी भएको उदाहरण दिँदै सरोकारवाला सबै पक्षले सुशासन र बित्तिय नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
सो अवसरमा प्रदेशका स्वास्थ्य मन्त्री किरण बहादुर थापाले पनि स्वास्थ्य क्षेत्रको विकास सहि रुपमा गर्न सकेको खण्डमा समाजलाई सहि बाटोमा अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।