
काठमाडौं । यौन शोषण मुद्दामा मिलापत्र गरेको प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानका विषयमा सर्वत्र आलोचना भएपछि उहाँले आफ्नो नाम फिर्ता लिनुभएको छ ।

९ साउनमा संसदीय सुनुवाइ गरेको संसदीय सुनुवाइ समितिले सोमबार प्रधानलाई अनुमोदन गर्ने कि अस्वीकृत भनेर निर्णय सुनाउँदै थियो। निर्णयअघि नै प्रधानले नाम फिर्ता लिनुभएको हो ।
संसद् सचिवालयका अनुसार नाम फिर्ता लिन प्रधानले दिएको निवेदन दर्ता भइसकेको छ। अब समितिले नाम फिर्ता लिन निवेदन आएकाले थप निर्णय गर्नुपरेन भनेर यो विषय टुंग्याउनेछ।
प्रधान २ असारमा संवैधानिक परिषदबाट निर्वाचन आयुक्तमा सिफारिस हुनु भएको थियो । संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया अगाडि बढाउने क्रममाउहाँ विरुद्ध यौन शोषणको उजुरी परेको थियो।
पीडित महिलासहित उजुरीकर्ताबाट शोषणका घटनाक्रम, अदालतको मिलापत्र, एक करोड २५ लाख लेनदेन गरेको चेक आएपछि समितिले लिएर अध्ययन गरेको थियो। यस विषयमा समितिले उहाँको नाम अस्वीकृत गर्ने अनुमानकासाथ प्रधान आफैले नाम फिर्ता लिनुभएको अनुमान गरिएको छ ।