
विदुर । नेपाली कांग्रेसबाट चोइटिएर बनेको नेपाली काँग्रेस (वी पी) पार्टीको रुपमा स्थापित हुन नपाउँदै विघटनको संघारमा पुगेको छ । नेपाली कांग्रेसको राजनीतिमा महत्वपूर्ण योगदान गरेका योगेन्द्रमान शेरचन जसलाई पञ्चाती सरकारले हत्या गरेको थियो उनका छोरा शुसीलमान शेरचनले नेतृत्व गरेको पार्टी भएपनि यसले सांगठनिक रुप लिन सकेको छैन ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा जित हासिल गरेर केही चर्चा कमाएपनि अन्य स्थानमा भने सोचेभन्दा धेरै कम मत आएपछि पार्टीभित्रका नेता कार्यकर्ताहरुले धमाधम पार्टी छाड्न थालेका छन् । यसैक्रममा उपसभापति तथा बागमती प्रदेश संयोजक सुदर्शन सिटौला, सहमहामन्त्री दिपक कार्की, केन्द्रिय सदस्य तथा अनुसार समितिका संयोजक गोपल श्रेष्ठ, केन्द्रिय सदस्यहरु झविन्द्र आचार्य धुर्व थापा, शारदा श्रेष्ठ, सुनिता कार्र्कीले पार्टीबाट राजीनामा दिएका छन् ।
उनीहरुले राष्ट्र निर्माता पृथ्वीनारायण शाह, युग द्रष्टा वी पी कोइराला स्पष्ट वक्ता मदन भण्डारीको मार्ग चित्रबाट देशलाई गतिशील विश्व मानव चित्रमा सुदृढ र अब्बल उद्देश्य राखी गठन गरिएको विचार र संगठनसँग आबद्ध रहेर सनातन हिन्दु राष्ट्र, राष्ट्रिय मियोको रूपमा रहेको अभिभावकिय राजसंस्था स्थापनाको अभिप्रायको साथ आफुहरु नेपाली काँग्रेस (वी पी) मा रहेकोेमा पार्टी ४÷५ जनाको झोलामा रहदै राष्ट्रिय चिन्तनहरुमा बेखबर रहेको भन्दै राष्ट्र र राष्ट्रियताको पक्षमा स्पष्ट अडान भएका राष्ट्रवादी नेताको छवि बनाएका राजेन्द्र लिग्देन अध्यक्ष रहेको राप्रपामा समाहित हुने निर्णय गरेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
यस्तै पार्टी छाड्ने लर्को चलेपछि कांग्रेस छाडेर वीपी कांग्रेसको केन्द्रीय सदस्य बनेका नुवाकोटका विगतमा कांग्रेसभित्र छुट्टै पहिचान बनाएका विश्व अधिकारीले पनि पार्टी छाडेका छन् । यस्तै पार्टी कार्यालयका सचिव सुशील वाग्लेले पनि आफ्नो सामाजिक सञ्जालमार्फत पार्टी छाडेर स्वतन्त्र बनेको उल्लेख गरेका छन् ।
बेलकोटगढीबाट पार्टीका तर्फबाट मेयरका उम्मेदवार बनेका वाग्लेले पार्टीको नाममा सारै कम मत आएको र उम्मेदवार बन्दा पार्टीका तर्फबाट कुनै सहयोग नपाएको भन्दै पार्टी छाड्ने निर्णय गरेका छन् । यस्तै नुवाकोटमा रहेका वीपी कांग्रेस निकटहरुले पनि पार्टी छाड्ने तयारी गरेका छन् । पार्टीका केन्द्रीय तहका नेताहरुले नै पार्टी छाडेपछि वीपी कांग्रेसभित्र रहेकाहरु पनि अलमलमा परेको एक नेताले नुवाकोट पुकारलाई बताए । उनले भने यस्तै हो भने अब पार्टी विघटनको अवस्था पुग्नेछ ।\