
काठमाडौँ, असोज ८ गते । दसैँका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मङ्गलबार महासङ्घ र यातायात व्यवस्था विभागबिच भएको छलफलमा सो विषयमा सहमति भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “असोज १२ गते शनिबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भयो । यातायात व्यवस्था विभाग र महासङ्घबिच यस विषयमा सहमति भएको हो ।
”असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत्त पनेरुका अनुसार दसैँ, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र बाहिरका जिल्लाबाट काठमाडौँ प्रवेश गर्ने यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउनका लागि मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो।