
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटका जनताले आवश्यक ठानेको खण्डमा आफू प्रत्यक्ष निर्वाचन लड्ने बताउनु भएको छ । आज बिहीबार आफ्नै निबासमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता महतले आफुले नुवाकोट जिल्लाको लागि विकास निर्माणमा महत्वपूर्ण योगदान गरेको स्मरण गराउँदै यस पटक प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने इच्छा रहेको बताउनुभयो ।

उहाले छहरे टोखा सुरुड. मार्ग निर्माण, बालाजु ककनी सडक निर्माण लगायत नुवाकोटको विकास लागि धेरै काम गर्न बाँकी रहेको समेत बताउनुभयो । उहाले आफूले उर्जामन्त्री भएका बेला नुवाकोट जिल्लाको अधिकांश स्थानमा विद्युतीकरण गरेको समेत स्मरण गराउनुभयो । नेता महतले हरेक नेता कार्यकर्ताको योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो ।
पत्रकारहरुले सोधेको अर्को एक प्रशंगमा आफ्ना दाजू डा. रामशरण महतको लिगेसीलाई निरन्तरता दिन क्षेत्र नं १ बाट निर्वाचन लड्न खोज्नु भएको त होइन ? भन्ने प्रश्नमा उहाले पार्टीमा आफ्नै हैसियत कम भएका बेला समेत दाजुको पावरको प्रयोग नगरेको भन्दै आफु हरेक काममा विश्वास गर्ने भएकाले आफ्नो कामको आधारमा नै निर्वाचन लड्न चाहेको बताउनुभयो ।
केसी निवासमा साउन १५ मनाउन जानुभयो नि के केसी परिवारसँग सम्बन्ध सुध्रिएको हो त ? भन्ने पत्रकारहरुको प्रश्नमा नेता महतले आफुले कहिलेपनि केसी परिवार भनेर बाइस नगरेको र उहाहरुले निम्ता गरेको खण्डमा सँधै जाने बताउनु भयो ।

नेता महतले नुवाकोट जिल्लामा केसी र महत भन्ने कुरा अन्त्य गर्दै कांग्रेसलाई एक बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । पत्रकारहरुले सोधेको अर्को एक प्रश्नमा उहाले कसैसँग तालमेल नगरी सरकार बनाउन नसकिने भन्दै अहिले अरु दल खोजेर गठबन्धन गर्नु भन्दा यहि गठबन्धनलाई कायम राखेर जाने पक्षमा नेपाली कांग्रेस रहेको बताउनुभयो ।
उहाले प्रधानमन्त्री देउवा आफ्नो कारणले बदनाम भएको भन्ने समाचारप्रति कडा आपत्ति जनाउँदै आफुलाई दिएको जुनसुकै जिम्मेवारी पनि सफल रुपमा पुरा गरेको बताउनुभयो ।
पछिल्लो समय डा. महतलाई नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन लड्नका लागि कांग्रेसका नेता कार्यकर्ताले दवाव दिइरहेका बेला उहाले आज पत्रकारसँग आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । गत निर्वाचनमा काठमाडौं ५ बाट निर्वाचन लड्नु भएका महत यस पटक भने आफ्नै गृह जिल्लाको क्षेत्र नं १ र २ मध्ये एकबाट निर्वाचन लड्ने इच्छा व्यक्त गर्नु भएको छ ।