
काठमाडौं । देशको अधिकांश भू–भागमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देशको अधिकांश भू–भागमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो ।
विज्ञप्तिमा देउवाले भन्नुभएको छ,देशको अधिकांश भू–भागमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति पार्टी र मेरो तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु ।अविरल वर्षाका कारण दर्जनौं व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति भएको भएको छ । मानिसहरु वेपत्ता र घरवारविहिन भई विस्थापित हुनका साथै सयौं व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ ।
सम्पूर्ण पीडितहरूको यो संवेदनशीलताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दै यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।उहाँले यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न आग्रह समेत गनुएभएको छ ।
सभापति देउवाले सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेसको तर्फबाट सरकारसँग ध्यानाकर्षण पनि गराउनु भएको छ ।
स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीका तर्फबाट निर्देश गरिन्छ । पार्टीका साथीहरूलाई ब्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।