
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक फरक क्षमता भएकी किशोरीलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । सूर्यगढी गाउँपालिका वडा नं.२ कुवापानी घर भएकी शारीरिक तथा मानसिक रूपमा अशक्त १९ वर्षीया युनिशा लामिछानेलाई जिल्ला प्रशासन कार्यालयको टोलीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको नेतृत्वमा गएको टोलीले शारीरिक तथा मानसिक रूपमा अशक्त किशोरीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो।कार्यालय आउन असमर्थ रहेका शारीरिक तथा मानसिक रूपमा अशक्त व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने सरकारी नीति अनुसार कार्यालयले उहाँलाई पनि नागरिकता प्रदान गरिएको जानकारी दिनुभयो ।
रामहरि लामिछाने र लक्ष्मी लामिछानेकी छोरी युनिशालाई सूर्यगढी गापा २ का वडाध्यक्ष दीपक अधिकारीले आवश्यक कागजपत्रसहित जिल्ला प्रशासनलाई नेपाली नागरिकताका लागि सिफारिस गर्नुभएको थियो ।
किशोरी युनिशालाई प्रदान गरेको नागरिकता नं. २५–०१–८१–०३८३८ मा जन्ममिति २०६२ फागुन २४ गते उल्लेख छ। नागरिकता पाएपछि खुसी हुँदै युनिशाका परिवारजनले उनलाई अपांगता प्रोत्साहन भत्ता र अन्य सुविधाका लागि सहजता भएको बताए।प्रशासन कार्यालयले यसअघि पनि यस्ता अशंक्र तथा अपाड.्ग भएका व्यक्तिहरुलाई सजिलो होस् भनेर घर घरमा नै पुगेर नागरिकता प्रदान गर्दै आएको छ । सरकारले अशक्त र अपाड.्गता भएकाहरुलाई उनीहहरुको कार्डहेरि फरक फरक प्रकारको भत्ता प्रदान गर्दै आएको छ ।