
काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेसहितविरुद्ध आज मुद्दा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १८ जनालाई संगठित अपराधको कसुरमा अभियुक्त बनाएर आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।
कास्की जिल्ला अदालतमा दायर अभियोगपत्रमा उनीहरूलाई संगठित अपराधमा सजाय गरी जरिवाना समेतको माग गरिएको छ ।
संगठित अपराधमा अभियुक्त बनाइएकाहरूमा रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १८ जना छन् ।
अरू प्रतिवादीमा रामबहादुर खनाल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, किरणबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ र लक्ष्मीप्रसाद पौडेल छन् ।
बयामा लामिछानेले आफूले खाली चेकमा हस्ताक्षर गरेको स्वीकार गर्दै त्यसको दुरूपयोग भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा बुझाएको अभियोगपत्रमा यस्तो दाबी गरिएको उल्लेख छ ।